धनगढीमा कोरोना परीक्षण बन्द, प्रयोगशालामा किटको अभाव

कोरोना परीक्षण उपकरण
Ad
  • कालोपाटी सम्बाददाता

धनगढी, वैशाख २५ ।
धनगढी प्रयोगशालामा कोरोना भाइरस (कोभिड-१९) को परीक्षण रोकिएको छ। मौज्दात किट सकिएपछि धनगढीको पशु अन्वेषण प्रयोगशालामा स्थापना गरिएको आरटी-पिसिआर मेसिनमार्फत हुने कोरोना परीक्षण बन्द भएको हो।

 
बुधबार राति चार जनाको परीक्षण भएकोमा किटको मौज्दात सकिएपछि बिहीबार परीक्षण बन्द गर्नुपरेको प्रयोगशालाले जनाएको छ। थ्रोट स्वाबको नमूना संकलन गरेपछि त्यसको प्रोसेसिङका लागि पिसिआर किट र आरएनए एस्ट्राक्सन किट आवश्यक पर्छ। पिसिआर किटको मौज्दात भए पनि आरएनए एक्पेक्सन किट सकिएपछि परीक्षण बन्द भएको प्रयोगशालाले जनाएको छ। 


अत्यावश्यक परीक्षणका लागि १० वटा किट भने राखिएको छ।  किट नभएपछि थ्रोट स्वाब संकलन गरिएका ५० बढिको अहिलेसम्म नमुना परीक्षण गर्न सकिएको छैन्। धनगढीमा प्रयोगशाला स्थापना भएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना पठाउन बन्द गरिएको थियो।  किटको अभाव भएपछि सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारपछि निको भएर घर फर्केका तीन जना बिरामीको पुनः परीक्षणसमेत गर्न सकिएको छैन। 


काठमाडौं र वीरगञ्जमा निको भएका संक्रमितको पुनः परीक्षण गर्दा कोरोना ‘पोजेटिभ’ देखिएको अवस्थामा धनगढीमा निको भएका संक्रमितको पुनः परीक्षण हुन नसक्दा जोखिम बढेको छ। किट अभाव हुँदा संकलिनत नमुनाकोसमेत परीक्षण रोकिएपछि शंकास्पदको नमुना संकलनसमेत अहिलेलाई बन्द गरिएको छ। 
किटको मौज्दात सकिएको र शुक्रबारसम्म संघीय सरकारले पठाउने जानकारी आएको सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले जानकारी दिए।  

उनका अनुसार शुक्रबार संघीय स्वास्थ्य मन्त्रालयले सुदूरपश्चिम प्रदेशका लागि तीन सय किट पठाउने तयारी गरेको छ। यसअघि सुदूरपश्चिम प्रदेशमा स्वाब राख्ने भाडो भिटिएमको अभाव हुँदा परीक्षण प्रभावित भएको थियो।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्