बैतडीमा भयो आरडीटी किटको अभाव, परिक्षणमा समस्या हुँदा जनता मर्कामा

आरडीटी किट
Ad
  • कालोपाटी सम्बाददाता


बैतडी, जेठ १ । (टेक सिंह धामी)
बैतडीमा क्वारेन्टाइनमा बसेका नागरिकहरुको कोरोना परीक्षणका लागि आरडीटी कीटको अभाव भएको छ । यही वैशाख १८ गते सीमा नाका झुलाघाट र धार्चुलाबाट स्वदेश फर्किएका नागरिकहरुको कोरोना परीक्षण गर्न कीटको अभाव भएको हो । जिल्लाका विभिन्न स्थानीय तहमा १ हजार ३६५ जना क्वारेन्टाइनमा बसेका भएपनि २ सय ६५ जनाका लागि कीटको अभाव भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो । स्वास्थ्य कार्यालयसंग भएको १ हजार एक सय कीट पुर्चौंडी र डिलाशैनीमा पठाईसकिएको छ भने अन्य तहहरुमा पठाउन कीटको अभाव रहेको उहाँले बताउनुभयो ।

पुर्चौंडी नगरपालिकाका विभिन्न स्थानमा क्वारेन्टाइनमा बसेका ९११ जनाको आरडीटीका लागि कीट पठाइएको छ भने डिलाशैनी गाउँपालिकाका क्वारेन्टाइनमा बसेका नागरिकको कोरोना परीक्षणका लागि पनि कीट पठाइएको छ । तर डिलाशैनी पनि क्वारेन्टाइनमा बसेका नागरिकको दु्रत परीक्षणका लागि कीट आधा मात्रै पुग्ने डिलाशैनी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नवराज जोशीले बताउनुभयो ।

जिल्लामा आरडीटी कीटको अभाव भएको बारेमा प्रदेश सरकारलाई जानकारी गराएपनि अहिले सम्म कीट उपलब्ध हुन नसकेको स्वास्थ्य कार्यालयका प्रमुख भट्टले बताउनुभयो । भारतबाट फर्केका नागरिकहरु क्वारेन्टाइनमा बसेको १४ दिन पुग्न दुई दिन मात्रै बाँकी रहँदा जिल्लामा आरडीटी कीट उपलब्ध हुन सकेको छैन् ।

दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, सुर्नया गाउँपालिका, दोगडाकेदार गाउँपालिका र सिगास गाउँपालिकाका क्वारेन्टाइनमा बसेका नागरिकको कोरोना परीक्षणका लागि कीटको अभाव भएको छ । यस्तै डिलाशैनी गाउँपालिकाका पनि आधा नागरिकका लागि मात्रै कीट उपलब्ध छ । भारतबाट फर्केकाहरुले भने आफूहरु ३५ दिन भारतीय क्वारेन्टाइनमा बसेको र १४ दिन स्वदेशका क्वारेन्टाइनमा पुग्न लागेकाले परीक्षणको व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

सबैभन्दा बढी पुर्चौंडी नगरपालिकामा ९११ जना क्वारेन्टाइनमा बसेका छन् भने त्यसपछि डिलाशैनी गाउँपालिकामा २२७ जना क्वारेन्टाइनमा बसेका छन् । दशरथचन्द नगरपालिकामा २४, पाटन नगरपालिका ८, मेलौली नगरपालिकामा ५ र पञ्चेश्वर गाउँपालिकामा ८ जना क्वारेन्टाइनमा बसेका छन् । यस्तै सुर्नया गाउँपालिकामा २५, दोगडाकेदार गाउँपालिकामा २१, सिगास गाउँपालिकामा ९८ र शिवनाथ गाउँपालिकामा ३८ जना क्वारेन्टाइनमा बसीरहेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्