सहरी खानेपानी आयोजना निर्माणमा ढिलाइ, धारामा पानी नआउँदा स्थानीय चिन्तित

Ad
  • कालोपाटी सम्बाददाता

बझाङ । जयपृथ्वी नगरपालिका भोपुरका महादेव जोशीले चैनपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई खानेपानीका लागि पैसा तिरेको तीन वर्ष हुन थाल्यो । उहाँले भन्नुभयो, “मसँग पैसा थिएन । छोरीले बुझेको तलबबाट भए पनि धारा जडानका लागि १० हजार तिरे । अहिलेसम्म धारामा पानी आएको छैन् । कहिले आउँछ थाहा छैन ।”

त्यस्तै जयपृथ्वी नगरपालिका-९ देवलकी टिटा मगर धामीले पनि १० हजार तिरेको करिब चार वर्ष जति हुन लाग्यो । उहाँहरु मात्रै नभएर गाउँका धेरै मानिसले पैसा तिरेको धेरै भयो । पानी आएको छैन् । सेतो पाइप मात्र बिछ्याएको छ । यसतर्फ ध्यान सो समिति गएको छैन ।

सन् २०१९ अप्रिल ७ देखि काम गर्ने जिम्मा पाएको आशिष जेभी ग्वाँल्लेक निर्माण सेवाले जयपृथ्वी-११ भोपुरमा काम सुरुवात गर्ने गरी सहरी खानेपानी तथा सरसफाइ आयोजना क्षेत्रीय कार्यालय नेपालगञ्जसँग २२ करोड ९२ लाख सम्झौता गरेको थियो । करिब १८ महिनाभित्र काम सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ । हालसम्म ७५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । भारत र चीनबाट समेत सामान ल्याउनुपर्ने भएकाले र लकडाउनका कारणलेसमेत काममा ढिलाइ भएको जेभी कन्टक्सनका परामर्शदाता मकरबहादुर स्वाँरले बताउनुभयो ।

अगामी दशैँभित्र समुदायस्तरमा पानी वितरण गर्ने तरिकालेसमेत काम भइरहेको जनाइएको छ । चैनपुरका लागि चार लाख ५० हजार लिटर, भोपुर बस्तीका लागि ५० हजार लिटर, देवल रिठापाठाका लागि एक लाख लिटर पानी वितरण गरिने समितिका अध्यक्ष लोकेन्द्र विष्टले बताउनुभयो । उहाँका अनुसार सो क्षेत्रका करिब एकहजार १६५ घरधुरीलाई पानी उपलब्ध गराइने छ । उहाँले भन्नुभयो, “आयोजना निर्माणस्थलमा सेती नदीमा आएको बाढीका कारणले आयोजना निर्माणमा ढिलाइ हुनगएको हो ।”

परियोजना निर्माणका लागि एशियन डेभलपमेन्ट बैंक र नेपाल सरकारको ७० प्रतिशत र नगरविकास कोष र उपभोक्ताको ३० प्रतिशत छ । नगरपालिकाले पनि म्याचिङस्वरुप ४५ लाख सहयोग गरेको छ । सुरुका अवस्थामा पनि सेती नदीको छालमा आयोजना बनाउनु नै गलत भएको तथा अहिले नदीको बाढीका कारणले निर्माणमा समेत ढिलाइ गरेको नगर उपप्रम्रख जुना जाग्रीले बताउनुभयो । आफूले आयोजनाको निर्माणकार्य सुरु हुनअघि नै सेती नदीको छालमा नबनाउन आग्रह गरे पनि कसैले आफ्नो कुरा नसुनेको उहाँको भनाइ छ ।-रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्