पुल निर्माण अलपत्रः स्थानीयवासी आक्रोशित

Ad
  • कालोपाटी सम्बाददाता

बलेवा । पर्वतको फलेवास र बागलुङको कुश्मीशेरा जोड्ने गरी कालीगण्डकी नदीमा निर्माणाधीन मोटरेबल पुल वर्षौंदेखि अलपत्र परेको छ । पर्वतको फलेवास, कार्कीनेटा, स्याङ्जाहुँदै पोखरा जोड्ने वैकल्पिक सडकलाई बागलुङको दक्षिण क्षेत्रसम्म जोड्ने यो पुलको निर्माण सात वर्षअघि सुरु भएको थियो ।

यो पुलको निर्माण सम्पन्न भएपछि मध्यपहाडी लोकमार्गको बागलुङ–पोखरा खण्डमा आवतजावत गर्ने यात्रुलाई सास्ती खेप्नुपर्दैन । २०७१ सालमा पुलको चर्चा चलेपछि संविधानसभाका सदस्य विकास लम्सालले पुल द्रुतगतिबाट बन्नुपर्ने प्रस्ताव गर्नुभएको थियो । पुलको प्रारम्भिक अध्ययन, विस्तृत परियोजना प्रतिवेदन तयार गर्नेदेखिलागत इस्टिमेट तयार गर्नेसम्मका काम एक वर्षमै सकिए । सडक बोर्डले ठेक्का आह्वान गर्ने बेलासम्मका काम द्रुतमार्गमा नै सम्पन्न भए ।

सो पुल निर्माणका लागि विसं २०७२ को अन्त्यतिर बोलपत्र आह्वान भयो । न्यूनतम र आधारभूत मूल्यमा काम गर्न तयार भएको बोलपत्र पेश गरेका तीन कम्पनीले पुल निर्माणको जिम्मेवारी पाए । विसं २०७३ असोज ९ गते रसुवा-श्री गीता-फेवा जेभीले सडक डिभिजन कार्यालयसँग पुल निर्माणको सम्झौता गरियो । पुल निर्माणको आवश्यक प्रक्रिया द्रुतगतिमा तयार भएपनि पाँच वर्षसम्म निर्माणाधीन आवस्थामा नै छ । जैमिनीघाटमा निर्माणाधीन पुलको काम थालेको पाँच वर्ष वितिसक्दासमेत ३५ प्रतिशत काम मात्रै भएको सडक डिभिजन कार्यालय बागलुङको तथ्याङ्क छ ।

‘‘पुल छिटो बनाउने भनेर प्रारम्भिक काम छिटो गर्न लगायौं, तर समस्या देखाएर पुल बनिरहेको छैन’’ गण्डकी प्रदेशका पूर्वमन्त्री विकास लम्सालले भन्नुभयो, “बीचमा आएका समस्या सहजीकरण गरियो ।’’ पुलको बागलुङ र पर्वत दुबैतर्फ पिल्लर बनाउने काम मात्रै सकिएको छ । पिलरका लागि आवश्यक संरचना निर्माण र पुलको सुरक्षाका लागि लगाइने पर्खालको समेत केही काम भएको निर्माण व्यवसायी कम्पनीका प्रतिनिधि विष्णु कोइरालाले बताउनुभयो ।

पटकपटक म्याद थप गरेर पुल निर्माणका लागि निर्माण व्यवसायीलाई प्रोत्साहित गरेको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ । पुलको इस्टिमेट नै परिवर्तन गर्नुपरेकाले निर्माण व्यवसायीले समयमा काम गर्न नपाएको सडक डिभिजन कार्यालय बागलुङका निमित्त प्रमुख मुकुन्दप्रसाद लामिछानेले बताउनुभयो । ‘‘पहिले नर्मल फाउण्डेसनको इस्टिमेट थियो, पछि पाइल फाउण्डेसन गर्ने भनेर परिवर्तन गर्दा एक वर्ष फाइल अल्झियो’’, उहाँले भन्नुभयो, ‘‘पाइल फाउण्डेसनका लागि आवश्यक मेसिन पु¥याउन बाटोको अभाव भएका कारण लामो समय काम भएन्, निर्माण व्यवसायी सम्झौता तोड्ने मानसिकतामा थिए, हामीले प्रोत्साहित गरेर काम गर्न लगाएका छौं ।’’ असजिलो काम सकिएकाले अब भने पुल बन्ने आशा पलाएको प्रमुख लामिछानेले बताउनुभयो ।

रु १३ करोड १२ लाख ४९ हजार ३६४ मा लागतमा तीस महिनामा सक्नेगरी पुल निर्माणको सम्झौता भएको थियो । ‘‘पहिले पाइल फाउण्डेसन निर्माणका लागि मेसिन त्यहाँ पु¥याउन सकेनौं, मेनुअल फाउण्डेसन पटकपटक भत्कियो’’, निर्माण व्यवसायी कोइरालाले भन्नुभयो, ‘‘पछि लकडाउनमा प्रशासनले काम गर्न दिएन, कामदार पठाएपछि कसरी काम होस् ।’’ कोइरालाले आउँदो असारसम्म पुलको बाँकी काम सकिने बताउनुभयो । अब समस्या नरहेकाले वर्षा रोकिएपछि धमाधम काम गर्ने उहाँको भनाइ छ ।

समयमा पुल नबनेका कारण भदौ १७ देखि एक साता मध्यपहाडी लोकमार्ग पहिरोले अवरुद्ध हुँदा बागलुङवासीले वैकल्पिक मार्गको प्रयोग गर्न पाएका थिएनन् । कालीगण्डकी करिडोरमा जोडिने यो पुलले पर्वत, स्याङ्जा र पोखरालाई समेत करिडोरको पहुँचमा ल्याउने काम गर्ने स्थानीयवासी बताउँछन् । पुल नबनेपछि स्थानीयवासी र सरोकारवाला निकै आक्रोशित छन् । गण्डकी प्रदेश मुकाम पोखराबाट स्याङ्जाहुँदै पर्वत र बागलुङको जैमिनी नगरपालिकाहुँदै गलकोट जोड्ने रणनीतिक सडकको मुख्य पक्की पुल हो, यो । ऐतिहासिक जैमिनीधाम क्षेत्रमा निर्माण भइरहेको पुलले पर्वत र बागलुङका आर्थिक, सामाजिक र धार्मिक क्रियाकलापमा समेत प्रभाव राख्छ ।-रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्