विशङ्खुनारायण मन्दिरमा भक्तजनको चहलपहल

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । हरिबोधनी एकादशीका दिन आज विशङ्खुनारायण मन्दिरमा भक्तजनको चहलपहल बढेको छ । कोभिड अघि जस्तो खचाखच दर्शनार्थीको घुइँचो नभएको विशङ्खुनारायण सेवा सुधार समितिका अध्यक्ष राजेन्द्र विष्टले बताए । उनले भने , “मन्दिर आउने भक्तजनको कमी भने छैन तर आउने जाने क्रम चाँही जारीनै रहेको छ । चार नारायण दर्शन गर्ने मानिस पनि यो वर्ष थोरै भित्रिएका छन् ।”

विशङ्खुनारायण परम्परागत पूजा व्यवस्थापन तथा संरक्षण समितिका सचिव दिवाकर सुवेदीले लाइन बसेको २० मिनेटमै दर्शन गर्न पाउने अवस्था रहेको छ भने । गोदावरी नगरपालिका–२ मा सो मन्दिर अस्थित रहेको छ । विशङ्खुनारायणथान ललितपुरको एक प्रसिद्ध तीर्थस्थल हो । यो लगनखेलबाट १० किलोमिटर टाढा पर्छ । मुलुकमा नाम चलेका चार नारायणमध्ये यो एक हो ।

शनिबार विभिन्न सङ्घ संस्थाको सहयोगमा मेलाका लागि मन्दिर आसपास क्षेत्र सरसफाइ, मर्मत र सुधार गरिएको कार्यसमिति सदस्य बेबीराज भण्डारीले बताए । विशङ्खुनारायणथानमा नारायणको प्राकृतिक शिलाको मूर्ति रहेकाले अन्य दिन पनि दर्शनार्थी आउँछन् । विशङ्खुनारायणलाई स्थानीय सुवेदी परिवारले इष्ट देवताको रुपमा पुज्ने गरेका स्थानीयवासीको धारणा छ ।

ठूलो एकादशीको दिन कोरोना अघि धुनवेशी, बनेपा, धुलिखेल, मकवानपुर, हेटौँडा, धादिङ, नुवाकोट, काभ्रेलगायतका स्थानबाट भाडामा सवारीसाधन लिएर दर्शन गर्न भक्तजन विशङ्खु आउथे तर यो वर्ष त्यो क्रम न्यून छ । सो क्षेत्रमा भगवान नारायणसँगै लक्ष्मीनारायणको पाइला, हनुमान, गणेश रहनुका साथै एक गुफासमेत रहेको छ । कात्तिक महिनामा दान, पुव्य गरी जाग्राम बसेर बत्ती बाल्दा श्रीवृद्धि हुने विश्वास हिन्दू धर्मावलम्बीमा रहँने हुँदा सो प्राप्तिका लागि नारायणको उपासना हुने गर्छ ।

मुलुकमा कोरोना कहर भित्रिनु अघि हरेक शनिबार वा सार्वजनिक बिदाका दिन विशङ्खु घुम्ने अनि दर्शन गर्ने र वनभोज खाने मानिसको निकै चहलपहल हुने स्थानीयवासीको भनाइ छ । भौगोलिक बनावट शङ्खको आकारमा रहेकाले विशङ्खु भनी नामाकरण भएको स्थानीयवासी ८६ वर्षीय गोविन्द विष्टले जानकारी गराए । यसैगरी पाटन दरबार क्षेत्रमा अवस्थित चारनारायणका साथै कृष्ण मन्दिरमा पनि भक्तजनको चहलपहल देखिएको पुजारी प्रभात शर्माले बताए । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्