विजयबाबु स्मृति पत्रकारिता पुरस्कार पौडेललाई

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । यस वर्षको ‘विजयबाबु स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार केशवप्रसाद पौडेललाई प्रदान गरिने भएको छ । पत्रकार विजयबाबु खत्रीको दशौँ स्मृति दिवसका अवसरमा नेपाल समाचार केन्द्र प्रालिकी अध्यक्ष लक्ष्मी श्रेष्ठ खत्रीले पत्रकार पौडेललाई पुरस्कृत गर्ने निर्णय भएको जानकारी दिए ।

पत्रकार पौडेल २०४२ सालदेखि पत्रकारितामा सक्रिय छन् । हाल उनि न्यु स्पटलाइट पाक्षिक म्यागजिनका प्रकाशक र सम्पादक छन् । काठमाडौँ–३२, कोटेश्वरका स्थायी बासिन्दा पौडेल सन् २००६ मा ‘डेभलपिङ एसिया जर्नालिज्म अवार्ड’बाट सम्मानित भएका थिए । खेलकूद बिटबाट समाचार लेखन सुरु गरेका पौडेल पछिल्लो समय विकास र आर्थिक विषयवस्तुमा कलम चलाउँछन् ।

पुरस्कार छनोटका लागि नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेल र नेपाल समाचार केन्द्र प्रालिका अध्यक्ष खत्रीसहितको समिति गठन भएको थियो । सोही समितिले पत्रकार पौडेललाई सो पुरस्कार दिने निर्णय गरेको हो । आर्थिक पत्रकारितामा सक्रिय रहँदारहँदै २०६८ साल मङ्सिर १२ गते रुपन्देहीको सालझन्डीमा भएको सडक दुर्घटनामा परी ३४ वर्षको उमेरमा पत्रकार खत्रीको निधन भएको थियो । स्वर्गीय खत्रीको स्मृतिमा उहाँको धर्मपत्नी लक्ष्मी श्रेष्ठ खत्रीले २०७५ मङ्सिर १२ गते अक्षय कोष स्थापना गरेको थियो ।

केन्द्रद्धरा सञ्चालित न्युजकारोबार डटकमको पाँचौँ वार्षिकोत्सवका अवसरमा यही मङ्सिर २४ गते पुरस्कार प्रदान गरिनेछ । पुरस्कारको राशि रु ३४ हजार छ । सो पुरस्कार पहिलो वर्ष वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारी र दोस्रो वर्ष स्वर्गीय गोकर्ण गौतमलाई प्रदान गरिएको थियो । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्