चामलको मूल्यभन्दा ढुवानी खर्च बढी

Ad
  • कालोपाटी सम्बाददाता

जाजरकोट । उपल्लो डोल्पामा खाद्यान्नको मूल्यभन्दा ढुवानी खर्च बढीपर्ने गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार उपल्लो डोल्पाको सालदाङ बिक्री केन्द्रमा चामल ढुवानी गर्न प्रतिकिलो रु ९० पर्छ । उपल्लो डोल्पाको सालदाङमा प्रति क्विन्टल जिरा चामलको मूल्य रु सात हजार, मोटो चामल रु पाँच हजार र सोना रु पाँच हजार ६०० मा कम्पनीले उपलव्ध गराउदै आएको छ ।

सुर्खेतदेखि धोसम्मको प्रतिकिलो चामलको ढुवानी भाडा रु ६५, धारगाउँको रु ५६ र सालदाङसम्मको रु ९० पर्छ । सालदाङमा चामल पु¥याउन रु नौ हजार ढुवानी भाडा लाग्छ भने चामलको मूल्य सबैभन्दा बढी प्रति क्विन्टल रु सात हजार छ । ढुवानी भाडा चामलको मूल्यभन्दा रु दुई हजार बढी छ ।

निजी क्षेत्रबाट बिक्री गरिँदै आएको ३० किलो चामललाई ‘धो’ मा रु ६ हजार पर्छ भने तिन्जेमा रु सात हजार पर्ने डोल्पोबुद्ध गाउँपालिका–१ का पेमा गुरुङले बताए । रु सात हजार तिरेर पनि चामल पाउन नसकेको उनको भनाइ छ । हिमपातका कारण खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामल ढुवानी रोकिएको छ ।

चामल ढुवानीको जिम्मा लिएका ठेकेदारले तोकिएको समयमा चामल उपल्लो डोल्पामा ढुवानी नगर्दा समस्या भएको खाद्य व्यावस्था तथा व्यापार कम्पनी लिमिटेड डोल्पाका प्रमुख कमलराज पाण्डेले बताए । पाँच सय कोटा रहेको शे फोक्सुण्डोको सालदाङमा अहिलेसम्म १८० क्विन्टल चामल ढुवानी गरिएको छ ।

डोल्पोबुद्ध गाउँपालिका ‘धो’मा ५०० क्विन्टल चामलको कोटा रहेकामा ढुवानी गर्ने जिम्मा पाएको ओम जयदुर्गे ढुवानी सेवाका रामचन्द्र रोकायले अहिलेसम्म ढुवानी गर्न नसकेको बताउनुभयो । हिमपातका कारण ढुवानी गर्न नकिएको उनको भनाइ छ ।

त्यस्तै छार्काताङसोङ गाउँपालिकाको ‘धारगाउँ’मा चामल ढुवानी गर्ने जिम्मेवारी लिएको नमूना ढुवानी सेवाका चेतकुमार शाहीले अहिलेसम्म ढुवानी गरेका छैनन् । सो ठाउँमा पनि ५०० क्विन्टल चामल ढुवानी गर्ने सहमति छ । यी सबै कम्पनीका बिक्री केन्द्र हुन् । कम्पनीले तल्लो डोल्पा, जगदुल्ला गाउँपलिकाको काइगाउँमा ५०० क्विन्टल, जुफालमा ३६० क्विन्टल र दुनैमा ५१० क्विन्टल चामल मात्र ढुवानी गरेको छ । सजिलै ढुवानी हुने ठाउँमा मात्र चामल पुर्याइएको  छ । उपल्लो डोल्पामा अहिलेसम्म चामल ढुवानी हुन सकेको छैन । ढुवानीको जिम्मेवारी लिएका ठेकेदारका लापरबाहीका कारण उपल्लो डोल्पामा चामल पुग्न नसकेको हो ।

सदरमुकाम दुनैमा चामल पर्याप्त उपलब्ध छ भने उपल्लो डोल्पामा ढुवानी नहुँदा समस्या भएको धो का पेमा गुरुङले बताए  । उपल्लो डोल्पामा खाद्यान्न ढुवानी गर्नका लागि अब हवाईमार्ग बाहेक अन्यमा सम्भावना नरहेको सर्वसधारण बताउँछन् । ठेक्का लिने र समयमा काम नगर्ने ठेकेदारका कारण उपल्लो डोल्पाका सर्वसाधारण मर्कामा परेको गुरुङले बताए  । उपल्लो डोल्पाका तीन पालिकामा अधिकांश बस्तीमा उवा वर्षमा एक पटक मात्र फल्ने गर्दछ भने केही ठाउँमा गहुँ पनि फल्ने गर्दछ ।

अत्यधिक चिसो मौसम भएका कारण वर्षमा एक बाली मात्र पाक्ने गरेको हो । उक्त अन्नले तीन महिना पनि खाना नपुग्ने यहाँका स्थानीयवासी बताउछन् । जडीबुटीको भण्डारको रुपमा रहेका उपल्लो डोल्पामा अधिकांश भू–भाग शे फोक्सुण्डो राष्ट्रिय निकुन्जले घेरिएको छ । पशुपालन र जडीबुटी उपल्लो डोल्पाको आम्दानीको स्रोत हुन् । सोही आम्दानीबाट नै खाद्यान्नदेखि अन्य समस्या समाधान गर्नुपर्ने उपल्लो डोल्पाका सर्वसाधारणको बाध्यता रहेको छ । चीनको नाकाहुँदै खाद्यान्न ढुवानी हुँदै आएकामा दुई वर्षदेखि सो मार्ग कोरोनाका कारण बन्द छ । हाललाई दुनैबाट चामल ढुवानी गर्नुपर्ने बाध्यता छ । वर्षमा १५ दिनको लागि हाटबजार खुल्ने गरेको चीन र नेपाल तर्फको सिमाना कोभिडका कारण दुई वर्षदेखि बन्द छ ।

सुर्खेतबाट उपल्लो डोल्पा प्रतिकिलो रु ९० मा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खाद्यान्न पु¥याउने गर्छ भने निजी क्षेत्रका व्यापारीले दुनैबाट उपल्लो डोल्पासम्म रु ८८ देखि रु १०० मा ढुवानी गर्छन । निजी क्षेत्रले उपल्लो डोल्पामा रु २४० सम्ममा प्रतिकिलो चामल खरिद गरेर खानुपर्ने बाध्यता छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्