बाँदरले सुन्तला नष्ट गर्न थालेपछि कृषक चिन्तित

Ad
  • कालोपाटी सम्बाददाता

म्याग्दी । बादरले सुन्तला नष्ट गर्न थालेपछि म्याग्दीका कृषक चिन्तित भएका छन् । बाँदर सुन्तला खान पल्किएपछि कृषकलाई चिन्तित बनाएको हो । हुल बाँधेर आउने बाँदरले सुन्तला खाने र नष्ट गरेर सताउन थालेको बेनी नगरपालिका–४ बास्कुनाका कृषक भीमबहादुर थापाले बताए ।

“सुन्तला खान पल्किएपछि बाँदरले सताउन थालेको छ”, उनले भने , “रुखमा चढ्यो भने एउटा खाने, १० वटा झारेर सखाप बनाउँछ ।” करिब ५० घरधुरीको बसोबास रहेको बास्कुनामा पूरै गाउँमा सुन्तला खेती गरेका छन् । बाँदरबाट सुन्तला जोगाउन कृषकले पालो लगाएर बगैँचा कुर्ने गरेका छन् । वडा, नगरपालिका र कृषि ज्ञान केन्द्रको कार्यालयमा बाँदर नियन्त्रणका लागि अनुरोध गरिएको कृषक थापाले बताए । उनका अनुसार बाँदरको समस्याले नपाक्दै सुन्तला टिपेर बजार पठाउन थालिएको छ ।

धान, गहुँ, मकै, कोदोलगायत अन्नबाली क्षति गरेर दुःख दिने गरेको बाँदर पछिल्लो समय सुन्तलामा पल्किएको बेनी नगरपालिका–३ मरेकका पदमबहादुर खत्रीले बताए । बाँदरले दाना झार्ने र खाने मात्र नगरी हाँगा भाचेर थप क्षति गरेको कृषकको भनाइ छ । धवलागिरि गाउँपालिका–७ कौछिनीका कृषक भेषनाथ गौतमले बाँदर धपाउने उपकरण पड्काएपछि गत वर्षदेखि नआएको बताए । दुई वर्षअघिसम्म त्यहाँ बादरले सुन्तला र अन्नबाली नष्ट गरेर दुःख दिएको थियो । धवलागिरि गाउँपालिकाले राष्ट्रिय आविष्कार केन्द्रले तयार पारेको बाँदर धपाउने उपकरण ल्याएर कृषकलाई उपलब्ध गराएको थियो ।

म्याग्दीको राखु, मरेक, सुर्केमेला, बरङ्जा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा २०० भन्दा बढी सुन्तला बगैँचा छन् । सात सय छ हेक्टरमा सुन्तला जात फलफूलको खेती भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । तीन सय ३५ हेक्टरमा लगाएको बोटले उत्पादन दिन्छ । गत वर्ष दुई हजार ४१२ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । म्याग्दीका सुन्तला पोखरा, चितवन, बुटवल र काठमाडौँमा निकासी हुन थालेको छ ।

पोखराबाट आएका व्यापारीले बगैँचाबाट सुन्तला खरिद गरेर लैजान थालेका बेनी नगरपालिका–८ राखुका थमबहादुर पुनले बताउनुभयो । “बगैँचाबाटै प्रतिकिलो रु ६५ का दरले सुन्तला बिक्री भएको छ”, उनले भने , “सुन्तला टिपेर बजार पठाउने चटारो छ ।” असी घरधुरी रहेको राखु गाउँभरि व्यावसायिक सुन्तला खेती भएको छ । यस गाउँबाट वार्षिक रु एक करोडको हाराहारीमा सुन्तला निकासी हुने गरेको छ । बास्कुनाका कृषक तिलक गुरुङले सडक र यातायात सुविधासँगै सुन्तलाले बजार र भाउ पाएको बताए ।

नगद आम्दानी हुने भएपछि कृषकले अन्नबालीको विकल्पमा खेतबारीमा सुन्तला खेती गर्ने क्रम बढेको छ । बाँदरका साथै दानाभित्र औसा परेर पाक्ने बेलामा सुन्तला झर्ने चाइनिज सिट्रोस फ्रुट फलाइ र सिट्रोस ग्रिन किराले कृषकलाई सताएको छ । औसा परेर झरेका सुन्तलाको दाना सुरक्षित व्यवस्थापन गर्ने र खाद्य पासो थाप्ने ज्ञान, सीप र प्रविधि सिकाउन स्थलगत तालिम सुरु गरेको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले बताए । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्