१८० वटा मुलुकहरुमध्ये नेपाल भष्टचार हुने देशको ११७ औं स्थानमा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । १८० वटा मुलुकहरुको बरियताक्रममा नेपाल ११७ औं स्थानमा रहेको छ । भ्रष्टाचारविरुद्ध वकालत गर्ने अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनल टीआईले आज जर्मनीमा सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक सीपीआई अनुसार नेपाल गत वर्षकोझै ३३ अंक पाएर ११७ औं स्थानमा रहेको छ ।

नेपालले यो वर्ष १०० मा ३३ अंक पाएको छ । नेपालको गत वर्षको अवस्था पनि यस्तै थियो । अघिल्लो र यस वर्ष नेपालको स्कोर स्थिर रहनुमा भ्रष्टाचार नियन्त्रणमा केही प्रगति गर्न नसकेको देखिन्छ ।

कुन मुलुकमा कत्तिको सुशासन छ भनी आँकलन गर्न ट्रान्सपरेन्सी इन्टरनेशनलको सीपीआईको सूचकलाई आधार मान्ने गरिएको छ । विभिन्न मुलुकहरुका आम नागरिकसँग प्रश्न गरेर उनीहरुले आफ्नो मुलुकभित्र कत्तिको भ्रष्टाचार छ भनी थाहा पाउँछन् भन्नेबारेमा सर्वेक्षण गरी यो सूचक सार्वजनिक गरिन्छ ।

दक्षिण एसियाली मुलुकहरुको तुलना गर्ने हो भने नेपालको अवस्था सुधारोन्मुख छैन । भुटानले ६८ अंक पाएको छ भने भारत र माल्दिभ्स ४०, श्रीलंका ३७ अंकका साथ नेपालभन्दा अगाडि छन् । पाकिस्तानले २८, बंगलादेशले २६ अंक पाएका छन् । यसैगरि यसपालिको सर्वेक्षणमा परेका १८० मुलुकमध्ये डेनमार्क, फिनल्याण्ड र न्यूजिल्याण्डले ८८ अंक पाएर राम्रो सुशासन भएको मुलुकमा परेका छन् ।

सबैभन्दा बढी भ्रष्टाचार व्याप्त दक्षिणी सुडानले ११ अंकमात्रै पाएको छ । ५० भन्दा कम अंक ल्याउने मुलुक भ्रष्टाचारले आक्रान्त भनी चित्रण गरिन्छ ।

नेपालमा भ्रष्टाचारको अवस्था सुधार नहुनुमा सार्वजनिक क्षेत्रमा भएको अनियमितता र अधिकारको दुरुपयोगलाई ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले प्रमुख कारण मानेको छ । व्यापार व्यवसायमा व्याप्त घुसखोरी, कारवाहीमा उदासिनता अनि सूचनामा नागरिकको पहुँच नभएकाले पनि अनियमितता मौलाएको टीआई नेपालको विज्ञप्तिमा उल्लेख छ । उसले राजनीतिक क्षेत्रमा भ्रष्टाचार नियन्त्रण नहुनुलाई प्रमुख समस्या मानेको छ ।

 

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्