म्याग्दी । म्याग्दीको बेनी नगरपालिका– २ मा पर्ने करीब छ सय वर्ष पुरानो इतिहास र सम्पदाको साक्षी बनेर रहेको ज्यामरुककोतमा पूर्वाधार निर्माण हुन थालेपछि त्यहाँस्थित खड्गभवानी परिसर सवैको आकर्षणको केन्द्रबिन्दु बन्दै गएको छ । त्यहाँ विगत दुई वर्षयता धमाधम विकासका पूर्वाधार निर्माण भइरहेका छन् । उक्त नगरपालिका, गण्डकी प्रदेश सरकार र खड्ग भवानी कोत व्यवस्थापन समितिको संयुक्त पहलमा पदमार्ग, प्रवेशद्वार, घेराबार, विभिन्न देवीदेवताका मन्दिर, टेलिकमको फोर जी टावरलगायत पूर्वाधार निर्माण भएपछि पहिला–पहिला सुनसान देखिने यो स्थलले सबैलाई आकर्षण गर्न सफल भएको हो ।
भकुण्डेदेखि खड्गभवानी कोत जोड्ने पक्की सिँढीसहितको २५० मिटर पदमार्ग निर्माण गरिएको छ । गण्डकी प्रदेशको उद्योग वन, वातावरण तथा पर्यटन मन्त्रालय र नगरपालिकाको आर्थिक सहयोग तथा स्थानीयवासीको सक्रियतामा उकालो बाटोमा ३५३ वटा सिँढीसहितको पदमार्ग निर्माण भएपछि ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल खड्ग भवानी कोत पुग्न सहज भएको छ । आव २०७५-७६ मा भू तथा जलाधार व्यवस्थापन कार्यालयबाट प्राप्त रु १४ लाख ९९ हजार ४८६ र उपभोक्ताको रु तीन लाख २१ हजार बराबरको श्रमदानमा उक्त पदमार्ग निर्माण गरिएको बेनी वडा नं–२ का वडाध्यक्ष हीराबहादुर थापाले बताए ।
पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष ओमबहादुर विकले दुई मिटर फराकिलो पदमार्गको १९० मिटर दूरीमा फलामको रेलिङ राखिएको बताउनुभयो । पदमार्ग निर्माण भएपछि उकालो बाटोमा सहज र सुरक्षितरुपमा हिँडडुल गर्न सकिनाका साथै पर्यटकको समेत आवागमन बढ्ने स्थानीय हरि घिमिरेले अपेक्षा गरे । त्यसैगरी कन्थराज थानदेखि खड्गभवानी कोतसम्म जाने २४० मिटर पदमार्ग पनि निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक लगानीमा सो पदमार्ग निर्माण भएपछि अब दुुईतिरबाट नै खड्गवानी कोतमा पुग्न सजिलो भएको खड्गभवानी गुठी व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण घिमिरेले बताए ।
कोत परिसरबाट धौलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छे, गुर्जा, चुरेनलगायत १५ वटाभन्दा बढी हिमाल, धौलागिरि र गण्डकी क्षेत्रका ३३ भन्दा बढी गाउँ, सूर्योदय, ग्रामीण जनजीवन, धार्मिकस्थल गलेश्वर, पञ्चकोट, म्याग्दीको सदरमुकाम बेनी, पर्वतको कुश्मा म्याग्दी नदी र कालीगण्डकीको नागबेलीसहित प्राकृतिक सम्पदाको दृश्यावलोकन गर्न सकिन्छ । खड्ग भवानी कोतस्थललाई राजधानी बनाइ विसं १२४६ देखि १५४५ सम्म थापा र त्यसपछि मल्ल राजाले ज्यामरुककोटमा राज्य गरेका थिए । उक्त कोतमा ५७४ वर्ष पुराना अभिलेख, हतियार र पुरातात्विक महत्वका सामग्री छन् । –रासस