कैलालीका किसानको गुनासो : ‘कुलामा पानी छैन, बोरिङको पर्याप्त भएन’

Ad
  • कालोपाटी सम्बाददाता

टीकापुर । विगतका वर्ष कैलालीका किसान जेठ मध्यतिरबाट खेत रोपाइँ सुरु गर्थे । यस वर्ष किसानलाई असार लागिसक्दा पनि खेत रोपाइँ गर्ने अवसर जुरेको छैन । किसानलाई प्रचण्ड गर्मी त्यसैमाथि, वर्षा नभएका कारण खेती गर्न समस्या भएको हो । अत्यधिक गर्मी र सिँचाइ कुलामा पानी नभएपछि टीकापुरका परमभक्त देवकोटाको खेतमा राखएिको धानको बीउ बिग्रियो । उनले भर्खरै फेरि बीउ छरेका छन् । विगतमा जेठ मध्यतिर खेत रोप्ने उनले असारको पहिलो साता बित्नै लाग्दा पनि बर्सात सुरु नभएपछि रोपाइँ त परै जाओस् बीउसमेत राम्ररी उमार्न सकेका छैन ।

“मैले जेठ मध्यतिर राखेको धानको बीउ सुकेर बिग्रियो, बीउ राम्रो नभएपछि फेरि बीउ छरेको छु”, उनले भने, “सिँचाइ कुलामा पानी आएको छैन, बोरिङको पानी पर्याप्त भएन । यस वर्ष खेती गर्ने समयमा बीउ छरेका छौँ । खै कस्तो हुन्छ रु” अर्का किसान वीरबहादुर चौधरीले तीन दिनअघि खेत रोपाइँ सुरु गरे । कुलामा पानी आउने आशा राखेर उहाले बोरिङ मोटरबाट खेती रोपाइँ सुरु गरेका थिए तर अहिले उनको रोपाइँ नै बन्द भएको छ । अत्यधिक गर्मीले कुलामा समेत पानी सुकेको र बोरिङ मोटरबाट खेती गर्न सम्भव नभएकाले उनले रोपाइँ नै स्थगित गर्नुपरेको हो । “मोटरको सहयोगमा राखिएको बीउ तयार भएको छ ।

अब ढिलो हुन्छ भनेर रोपाइँ सुरु गर्यौँ तर पानी अभावमा गर्न सकिएन”, उनले भने, “बर्सात नभएका कारण खेत सुक्खा छ । बोरिङको सिँचाइ एकैछिनमा सुक्खा भइसक्छ । वर्षा नभएसम्म खेती गर्न गाह्रो छ ।” टीकापुरको वनगाउँका किसान चित्रबहादुर चौधरी पनि रोपाइँ सुरु गर्ने तर्खरमा छन् । धानको बेर्ना राखेको महिना दिन पुग्न लाग्दा पनि कुलामा पानी नहुँदा उनले अहिलेसम्म रोपाइँको सुरसार गर्नसकेका छैन । किसानले सामान्यतया बेर्ना २१ देखि ३० दिनसम्म खेतमा रोपी सक्ने गर्छन् । कुलामा पानी नहुँदा राखेको ब्याड अहिलेसम्म रोपी सक्नुपर्ने भएता ब्याड छिपिँदै गइरहेको चित्रबहादुरको गुनासो छ । “किसानलाई सबैभन्दा बढी समस्या छ ।

न मल पाइएको छ, न सिँचाइ सुविधा छ”, उनी भन्छन्, “यस्तो समस्यामा सबैभन्दा बढी पीडा किसानलाई छ ।” वर्षा नहुँदा र कुलामा पानी नआउँदा किसानलाई धान रोपाइँ गर्न समस्या छ । लामो समयसम्म वर्षा नहँुदा नदी तथा कुलामा पर्याप्त पानी नभएकाले किसान पानीको अभावमा रोपाइँ सकिरहेका छैनन् । किसान मानबहादुर चौधरी कतिपय किसानले मोटरबाट सिँचाइ गरेर खेती सुरु गरे पनि सम्भव नहुने बताउँछन् । “सबैतिर नदीमा पानीको सतह कम भएको र मोटरबाट खेतमा पानी लगेर सिँचाइ गर्दा घण्टौ समय लाग्ने गर्छ । यसले किसानलाई थप समस्या भएको छ”, मानबहादुरले भने, “बर्सात नहुँदासम्म सिँचाइका लागि बोरिङ मोटरमा पनि राम्ररी पानी नआउने समस्या छ ।”

जिल्लामा ७१ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुन्छ । धानखेती हुने क्षेत्रफलमा सबैतिर सिँचाइ सुविधा हुँदैन । कतै नदी, कुलाबाट सिँचाइ हुन्छ भने कतै बोरिङ, मोटर र आकाशे पानीको भरमा खेती हुन्छ तर यस वर्ष कैलालीमा बर्सात नहुँदा किसानले रोपाइँ सुरु गरी सक्नुपर्ने धान खेत अहिलेसम्म बाँझै छन् । जानकी गाउँपालिकाका कृषि शाखा प्रमुख लालवीर चौधरी अत्यधिक गर्मी र मौसममा आएको परिवर्तनका कारण खेतीमा असर गरेको र किसानले मौसम नहेरी छिटो बीउ छर्दा राम्ररी नहुर्केको बताउँछन् । “किसानले विगतलाई हेरेर बीउ छर्नुभयो, मौसममा आएको परिवर्तनका कारण किसानले राखेको बीउ समेत बिग्रिएको छ”, उनी भन्छन्, “ कुलामा पानी छैन, मोटरको पानीले खेती गर्न सम्भव हुँदैन, बर्सात भएपछि खेती रोपाइँ गर्न सहज हुन्छ, वातावरण प्रतिकूल असरले उत्पादनमा समेत असर पार्छ ।” –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्