काठमाडौं महानगरपालिकाद्धारा शिक्षा र स्वास्थ्यमा प्राथमिकता, विपन्नलाई निःशुल्क श्ययाको प्रबन्ध गर्ने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । काठमाडौं महानगरपालिकाले दरबार हाइस्कूललाई राष्ट्रियस्तरको नमूना विद्यालय बनाउने नीति लिएको छ । विसं २०७२ को भूकम्पले पूर्णरुपले क्षति भएपछि पुनःनिर्मित ऐतिहासिक दरबार हाइस्कुललाई कामपाले राष्ट्रियस्तरको नमूना विद्यालय बनाउने नीति लिएको हो । नीतिमा महानगर शिक्षा सुधार योजना, स्थानीय पाठ्यक्रमको निरन्तर पठनपाठन, ११ वटा प्राविधिक विषयको अध्यापन भइरहेकामा दुई वटा थप गर्नेलगायत विषय समावेश छन् ।

यस्तै वडास्तरीय सामुदायिक सिकाइ केन्द्र स्थापना र सञ्चालन, सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको नियमित स्वास्थ्य जाँच, विद्यालयमा अग्नि नियन्त्रण उपकरण जडान, ई–लाइब्रेरी सञ्चालन गर्नेलगायत कार्यक्रम आइतबार कामपाका प्रमुख बालेन्द्र साहले आगामी आर्थिक वर्ष २०७९÷८० को नीति कार्यक्रम प्रस्तुत गरेका थिए । त्यस्तै स्वास्थ्यतर्फ स्वास्थ्य नीतिमा वडा क्लिनिकको स्तरोन्नति गरी स्वास्थ्य केन्द्रमा रुपान्तरण गर्ने, करदातालाई बीमाका लागि आवश्यक प्रबन्ध मिलाउने जसका लागि कामपाले ५० प्रतिशत अनुदान दिने, विपन्नलाई निःशुल्क श्ययाको प्रबन्ध गर्ने र आयुर्वेद पद्धतिलाई प्रवद्र्धन गर्नेलगायत नीति छन् ।

स्वास्थ्य सेवाको गुणस्तर र पहुँच अभिवृद्धि गर्नका लागि महानगर जनस्वास्थ्य ऐन जारी गर्ने महानगरको नीति रहेको छ । नागरिक आरोग्यता प्रवद्र्धन गर्न आहार, विहार, ध्यान, योग, प्राणायाम आदिबारे सचेतना फैलाउने, एकीकृत एम्बुलेन्स सेवा सञ्चालन गर्ने, एक विद्यालय एक नर्स र स्कूल सोसियल वर्कर कार्यक्रम रहेका छन् । सडक, ढल, खानेपानीका पाइपलाइन, सडक, बत्ती टेलिफोनलगायत भौतिक पूर्वाधारको डिजिटल प्रोफाइल तयार पार्ने नीतिलाई पूर्वाधार विकास नीतिमा राखिएको छ । बिग्रेका पूर्वाधारलाई थप क्षति हुन नदिन तत्काल मर्मतसम्भारका लागि अहिले सञ्चालनमा ल्याइएको इन्फ्रास्ट्रक्चर एम्बुलेन्सलाई आवश्यकअनुसार सामग्री र जनशक्तिसहित थप गर्ने नीति महानगरको छ ।

पैदलमार्गको स्तरोन्नति गर्ने, बस बिसौनीलाई मौलिकता दिँदै परम्परागत शैलीको फल्चा बनाउन इच्छुक सङ्घसंस्थालाई प्राविधिक सहयोग उपलब्ध गराउने, सामुदायिक विद्यालय, सार्वजनिक संस्था तथा सार्वजनिक शौचालयको स्तरोन्नति गरी अपाङ्ग तथा लैङ्गीकमैत्री बनाइने नीति लिइएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्