‘मुलुकमा जागरण र परिवर्तन ल्याउन टङ्कप्रसादको योगदान महत्वपूर्ण छ’ : अध्यक्ष ओली

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टङ्कप्रसाद आचार्यले तत्कालिन समयमा छरेका पर्चाले नेपालको राजनीतिक जागरण र परिवर्तनमा महत्वपूर्ण योगदान दिएको बताएका छन् । टङ्कप्रसाद आचार्य स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको विसं १९९७ असार ९ गते राणा शासनविरुद्ध छरिएको पहिलो पर्चा र विसं २००८ असार ३ गते गठन भएको जनताको जातीय जनतान्त्रिक संयुक्त मोर्चा नेपाल विषयक संवाद कार्यक्रममा सो धारणा व्यक्त गरेका हुन् । “मुलुकमा परिवर्तन ल्याउन टङ्कप्रसादले छरेका पर्चाको योगदान महत्वपूर्ण रहेको छ”, उनले भने ।

आचार्यले गठन गरेको नेपाल प्रजापरिषद् नेपाली धर्ती र नेपाली विचारबाट बनेको संस्था रहेकोसमेत उनले बताए । उनले टङ्कप्रसाद आचार्यको विचार र सङ्गठनले विसं २००७ को क्रान्ति भएको धारणासमेत व्यक्त गरे । “टङ्कप्रसाद आचार्यलाई २००७ सालको क्रान्ति लगत्तै मुलुकको नेतृत्व दिइन्थ्यो भने उनले परिकल्पना गरेको मुलुक बन्दथ्यो”, उनले भने । पूर्वप्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीले उद्देश्यलाई जीवित राखेर कम्युनिष्ट पार्टीको नाम परिवर्तन गर्न सकिने बताए ।   उनले भने , “देश ठूलो हो, देशका लागि हामीले काम गर्ने हो, हाम्रा उद्देश्य समृद्ध नेपाल र सुखी नेपाली हुनुपर्दछ ।”

उनले प्रजापरिषद् नामेट पार्न एमालेमा गाँभेको नभई उद्देश्यलाई अमर राख्नका लागि एकता गरिएको बताए । “प्रजा परिषद्का उद्देश्य अमर रहेका छन् । ती बाँचिरहन्छन्”, उनले भने । प्रतिष्ठानका अध्यक्ष सुशील प्याकुरेलले टङ्कप्रसाद आचार्यले छर्नुभएको पर्चाले मुलुकमा राजनीतिक जागरण आएको बताए । टङ्कप्रसाद आचार्यले राणा शासनको विरोधमा विसं १९९७ असार ९ गते भोटो देखाउने जात्राका दिन चारवटा पर्चा छरेका थिए । सोही दिनको सम्झनामा पर्चा दिवस मनाउने गरिन्छ । यसैबीच सोही कार्यक्रममा अरविन्द रिमाल र डा महेश्वर शर्मालाई जनताको जातीय जनतान्त्रिक संयुक्त मोर्चा नेपाल गठनमा पुयाएको योगदानस्वरुप सम्मान गरिएको थियो ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्