थालीयो पोखरा बसपार्क व्यवस्थित बनाउने कार्य, हिलो र धुलोमुक्त हुँदै

Ad
  • कालोपाटी सम्बाददाता

पोखरा । जग्गा अधिग्रहण भएको झण्डै ४७ वर्षपछि यहाँको बसपार्क व्यवस्थित बनाउने पहल थालिएको छ । यतिबेला बसपार्कको नाला निर्माण र ग्राभेल भरेर सम्याउने काम अगाडि बढेको छ । अहिले बसपार्कको आधा भागमा ग्राभेल हालेर सम्माउने काम भएको छ भने पश्चिम भागमा नाला निर्माण गर्न थालिएको छ । पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले भने , “लामो समयदेखि पोखराको बसपार्कमा देखिएको समस्या कम गर्न थालिएको छ ।

तत्कालका लागि हिलो र धुलोमुक्त बनाउन लागेका छौँ ।” नाला निर्माण र ग्राभेल भरेर सम्याउने काम भएसँगै बसपार्क अब हिलो र धुलोमुक्त हुने उनको भनाइ छ । उनका अनुसार पोखरा महानगरपालिका र प्रदेश सरकारको समेत सहयोगमा बसपार्क सुधार कार्य अगाडि बढेको हो । आधा भाग ग्राभेल हालेर पुर्ने काम भएको र बाँकी आधा भागमा पनि निरन्तर काम भइरहेको छ । यसैबीच पोखरा बसपार्कका प्रमुख आचार्यले बसपार्कको सबै भाग सम्याएर तत्कालका लागि धुलो र हिलोमुक्त बनाउन निर्देशन दिएका छन् । उनले दीर्घकालीन समस्या समाधानका लागि डिपिआर तयार पार्दै सिटी बसपार्कको रुपमा निर्माण गर्ने बताए ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्का र पोखरा महानगरका प्रमुख धनराज आचार्यले गत जेठमा बसपार्कको नाला निर्माणको शिलान्यास गरेका थिए । झण्डै ४७ वर्ष अगाडि अर्थात् १८ फागुन २०३२ सालमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरेर बसपार्कका लागि जग्गा अधिग्रहण गरिएको थियो । पोखरा बसपार्कको जग्गा पोखरा उपत्यका नगरविकास समितिको स्वामित्वमा छ । उपत्यका नगरविकास समिति अहिले महानगर प्रमुखको नेतृत्वमा छ । अधिग्रहण गरिएको २०५ रोपनी जग्गा अहिले जम्मा ८१ रोपनीमा खुम्चिएको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्