जनताको मनोवल बढाउने गरी सकारात्मक एवं रचनात्मक समाचार सम्प्रेषण गर्न प्रधानमन्त्रीको आग्रह

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुक र नागरिकलाई केन्द्रमा राखेर सत्यतथ्य र आधिकारिक समाचारमार्फत् आम जनतालाई सुसूचित गराउने दायित्व बहन गर्न राससलाई आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज राससका नवनियुक्त कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले गरेको शिष्टाचार भेटका अवसरमा उनले जनताको मनोवल बढाउने गरी सकारात्मक एवं रचनात्मक समाचार सम्प्रेषण गर्न सुझाव दिएका हुन् ।

मुलुकको समाचार समितिका रुपमा छ दशकभन्दा लामो इतिहास बोकेको राससले सदैव निष्पक्ष र आधिकारिक समाचार सम्प्रेषण गरी सरकार र जनताका बीचमा सेतुको भूमिका निर्वाह गर्नुपर्ने प्रधानमन्त्री देउवाको धारणा थियो । स्वदेश तथा विदेशमासमेत कार्यसञ्जाल रहेको राससले आफ्नो सेवालाई विविधिकरण गरी अझ चुस्तदुरुस्त, भरपर्दो र गुणस्तरीय बनाउन सुझाउँदै प्रधानमन्त्री देउवाले राससलाई अझ सुदृढ र स्रोतसाधन सम्पन्न बनाउन सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

समाचार सङ्कलन तथा सम्प्रेषण कार्यमा सरकारका तर्फबाट कुनै पनि किसिमको हस्तक्षेप नहुने पनि प्रधानमन्त्री देउवाले स्पष्ट गरेका थिए । वर्तमान सरकार सदैव प्रेस स्वतन्त्रताको पक्षमा रहेको चर्चा गर्र्दै उनले चौथो अङ्गका रूपमा परिचित प्रेसले पनि सोही अनुसारको भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । सो अवसरमा प्रधानमन्त्री देउवाले राससका नवनियुक्त कार्यकारी अध्यक्ष झालाई बधाई तथा शुभकामना दिँदै लामो समयदेखि मुलुकको आमसञ्चार क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेका वरिष्ठ पत्रकार झाको नेतृत्वमा राससको समाचार सेवाको गुणस्तर अभिवृद्धि भई आमनागरिक लाभान्वित हुने विश्वास व्यक्त गरे । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्