माओवादीको केन्द्रीय समिति बैठक सुरु, स्थानीय निर्वाचनको समीक्षा र आगामी कार्यदिशाका बारेमा छलफल गरिने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक राजधानीमा सुरु भएको छ । गत पुसमा आठौँ महाधिवेशन गरेको माओवादीले अध्यक्षबाहेकका अन्य पदाधिकारी चयन गर्न सकेको छैन । कमलादीस्थित प्रज्ञा भवनमा केन्द्रीय समितिको बैठक सुरु भएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।

बैठकको कार्यसूचीमा केन्द्रीय समितिलाई पूर्णता दिने, पदाधिकारी चयन, पोलिटब्युरो र स्थायी समितिको चयन र कार्यविभाजन रहेको छ । यस्तै बैठकमा गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको समीक्षा र आगामी कार्यदिशाका बारेमा पनि छलफल गरिने भएको छ । गत पुसमा सम्पन्न महाअधिवेशनले अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चयन गरे पनि अन्य पदाधिकारी भने चयन गर्न सकेको थिएन । महाधिवेशनले पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष रहने व्यवस्था गर्नाका साथै २९९ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था गरेको थियो ।

महाधिवेशनपछि पटकपटक सर्दै आएको बैठकले साङ्गठनिक काम कारवाहीका अलावा, मुलुकको पछिल्लो राजनीतिक अवस्था तथा आगामी सङ्घीय र प्रदेशसभाको निर्वाचनको तयारीका बारेमा समेत छलफल गर्ने कार्यसूचीमा उल्लेख छ । बैठकमा अध्यक्ष दाहालले पछिल्लो राजनीतिक अवस्थाका बारेमा जानकारी गराएका छन् । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्