लिफ्टमार्फत गाउँगाउँमा पानी, स्थानीय बासिन्दा हर्षित

Ad
  • कालोपाटी सम्बाददाता

जाजरकोट । भेरी नगरपालिका–१२ विष्णेचौरमा लिफ्ट सिँचाइमार्फत पानी आएपछि गाउँका बासिन्दा खुसी भएका छन् । सिँचाइ सुविधाद्वारा कृषि उत्पादन बढाउन र आयआर्जनमा सुधार ल्याउनका लागि ८० प्रतिशत अनुदान सहयोगमा उक्त लिफ्ट सिँचाइ योजना निर्माण गरिएको हो । सिँचाइका लागि ल्याइएको पानी प्रशोधन गरेर पिउनयोग्य बनाइएको स्थानीयवासीले जानकारी दिएका छन् ।

विष्णेचौरवासीले पुर्खौँदेखि पानीका लागि दुःख भोग्दै आएका थिए । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको रु १५ लाखमा उक्त लिफ्ट सिँचाइ योजना सम्पन्न भएको जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले जानकारी दिएका छन् । भेरी नदीबाहेक पानीको स्रोत नभएको सो ठाउँमा धमिलो पानी बोकेर खाने गरेका बासिन्दा घरआँगनमै पानी आएपछि खुसी भएको स्थानीय रमा शाहीले जानकारी दिएका हुन् । उनले उत्पादन निकै कम हुने गाउँमा पानी पुगेपछि मौसमी तथा बेमौसमी तरकारी खेती गरी आयआर्जनमा सुधार आउने उल्लेख गरेका हुन् ।

कृषि पेशामा आत्मनिर्भर हुन किसानको उत्पादन वृद्धि गरी आयआर्जनमा सुधार ल्याउन कर्णाली प्रदेश सरकारले सडक करिडोर आसपासका गाउँ बस्तीमा लिफ्ट सिँचाइ आयोजना सञ्चालन गरेको मन्त्री सिंहले बताएका हुन् । अघिल्लो वर्ष त्यहाँका बासिन्दाले सिँचाइ सुविधा उपलब्ध गराउनका लागि मन्त्री सिंहलाई ज्ञापनपत्र नै बुझाएका थिए । जिल्लामा अन्य तीन ठाउँमा यस्ता योजना सम्पन्न भएको जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी टोपबहादुर नेपालीले बताए । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्