काठमाडौं । राष्ट्रियसभाका सांसद खिमलाल भट्टराईले सरकारको गैरजिम्मेवार व्यवहार र असक्षमताका कारण जनतामा निराशा छाएको बताएका छन् । राष्ट्रियसभाको सोमबारको बैठकमा विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले सरकार विकासका मुद्दामा केन्द्रित हुन नसकेको समेत आरोप लगाएका छन् । सरकार राजनीतिक मुद्दामा केन्द्रित हुँदा विकास निर्माण ठप्प भएको उनले बताएका हुन् । धेरै ठूलो संघर्षबाट प्राप्त गरेको लोकतन्त्र, गणतन्त्र र संघीयतामाथि प्रश्न उठ्न थालेकोमा उनले चिन्ता व्यक्त गरेका छन् ।
उनले बैठकमा बोल्दै, ‘सरकारको गैरजिम्मेवार व्यवहार, असक्षमताका कारण जनतामा निराशा र असन्तुष्टी आएको छ । यसलाई सत्तापक्षको हिसाबले सच्याउने दम राख्नुहुन्छ भने प्रतिपक्षको हिसाबले स्वागत गर्छौं । जनताको आक्रोश नबढोस्, चिन्ताको विषय यो हो’, उनले भने ।