२५ सय बचतकर्ताको रकम लिएर गौतमश्री सहकारीका सञ्चालक फरार, सञ्चालक विरुद्ध सहकारी विभागमा उजुरी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । गौतमश्री सहकारी संस्थाका सञ्चालक बचतकर्ताहरुको रकम फिर्ता नगरी फरार भएका छन् । काठमाडौंको कुलेश्वरमा मुख्य कार्यालय रहेको सहकारीका सञ्चालक झण्डै २५ सय सदस्यहरुको बचत रकम फिर्ता नगरी फरार भएका हुन् । सदस्यहरुको बचत रकम फिर्ता नगरी फरार भएको भन्दै सहकारी संस्थाका सञ्चालकविरुद्ध सहकारी विभागमा उजुरी परेको छ ।

फरार सहकारीलाई खोजेर बचत रकम फिर्ता गराइदिन भन्दै सहकारीका करिब १५ सय बचतकर्ताहरु आइतबार विभागमा उजुरी दिन पुगेका छन् । संघीय राजधानी काठमाडौंलाई नै मुख्य व्यवसायिक क्षेत्र बनाएर सञ्चालनमा रहेको गौतमश्री सहकारी संस्थाका सञ्चालक बचतकर्ताहरुको रकम फिर्ता नगरी फरार भएका छन् । घटनाको प्रकृति र बचतकर्ताहरुको उजुरीका आधारमा उक्त सहकारीमाथि अनुसन्धान र कारबाही अघि बढाइने सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डित जानकारी दिए ।

शुक्रबार मुख्य कार्यालय नै बन्द गरेर फरार भएपछि कुलेश्वरस्थित गौतमश्री सहकारीमा एभरेष्ट बैंकले सूचना टाँस गरेर सिल गरेको छ । सहकारीमा बैंकको कुनै पनि लगानी नभएपनि सहकारी रहेको भवनमा नै सञ्चालित गौतमश्री काउ फार्म एण्ड डेरी उद्योग र कृषि तथा अन्य सामग्रीको स्टोर रहेको र सोमा बैंकको लगानी रहेकाले संरक्षणका लागि सिल गरिएको बैंकले जनाएको छ ।

लामो समयदेखि बचतकर्ताहरुको बचत रकम फिर्ता गर्न नसकेर समस्यामा परेको सहकारीले गत शुक्रबार मुख्य कार्यालयमा नै ताल्चा लगाएर भागेपछि सदस्यहरु आन्दोलित भएका हुन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्