जनकपुर भन्सार कार्यालयमा घट्यो राजस्व,२६ करोड ३६ लाख ७९ हजार राजस्व सङ्कलन

Ad
  • कालोपाटी सम्बाददाता

जनकपुरधाम । जनकपुर भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा लक्ष्यको ५४ प्रतिशत मात्र राजस्व सङ्कलन गर्न सकेको छ । सो कार्यालयले आव २०७८/७९ मा रु. ४८ करोड ५५ लाख ९२ हजार राजस्व सङ्कलनको लक्ष्य लिएकामा  रु. २६ करोड ३६ लाख ७९ हजार राजस्व सङ्कलन गरेको छ । जनकपुर भन्सार कार्यालयका प्रमुख प्रमोद दासका अनुसार आव २०७८/७९ मा भन्सार महसुलतर्फ रु. १६ करोड १७ लाख ७७ हजार, मूल्य अभिवृद्धि करतर्फ रु. नौ करोड ७४ लाख ५९ हजार, अन्तःशुल्कतर्फ रु. ३७ लाख २७ हजार र बोलपत्र आयाततर्फ रु. सात लाख १५ हजार राजस्व सङ्कलन गरेको छ ।

आव २०७७/७८ मा लक्ष्यको ८८ दशमलव ३३ प्रतिशत राजस्व सङ्कलन भएको थियो । आव २०७७/७८ मा रु. ५३ करोड ५१ हजार ५७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु. ४४ करोड ५९ लाख ७१ हजार सङ्कलन भएको थियो । भन्सार कार्यालयका अनुसार आव २०७७/७८ मा भन्सार महसुलतर्फ रु. २१ करोड ७७ लाख ८२ हजार, मूल्य अभिवृद्धि करतर्फ रु. २२ करोड ३३ लाख ८ हजार, अन्तःशुल्कतर्फ रु. ३० लाख ६२ हजार र सडक निकासी दस्तुरतर्फ रु १८ लाख १८ हजार राजस्व सङ्कलन भएको थियो ।

थुप्रै सामान आयातमा लगाएको प्रतिबन्ध, बैंकिङ माध्यमबाट कारोबार गर्नुपर्ने व्यवस्था, बाटोको समस्या, कोरोना महामारी, खुल्ला सिमाना, स्थानीय तहको निर्वाचनलगायतका कारणले लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न नसकिएको कार्यालय प्रमुख दासले बताए । जिल्लामा मुख्य भन्सार कार्यालय एक र छवटा छोटी भन्सार कार्यालय छन् । जटही, इनर्वा र अररियास्थित छोटी भन्सार मात्र सञ्चालनमा छन् । खजुरी, महुवा र महिनाथपुरस्थित छोटी भन्सार कार्यालय हाल बन्द रहेको कार्यालयले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्