चितवन राष्ट्रिय निकुञ्जले सम्पन्न गर्यो बाघको अवस्था बुझ्न क्यामेरा ट्यापिङ्को काम

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जले बाघको अवस्था बुझ्न क्यामेरा ट्यापिङ्को काम सम्पन्न गरेको छ । निकुञ्जले माडी क्षेत्रमा पर्ने सामुदायिक वनमा बाघको अवस्था बुझ्न राखिएका क्यामेरा झिकेर अध्ययनको काम थालेको हो ।

माडी र ठोरीको मध्यवर्ती सामुदायिक वन क्षेत्रमा बाघको ‘इकोलोजिकल मोनिटरिङ’ गर्नका लागि क्यामेरा ट्यापिङ् गरेको थियो । असोज २५ गतेदेखि राखिएका क्यामेरा एक साताअघि निकालिएको हो । निकुञ्जको आयोजना र तराई भूपरिधि कार्यक्रम (ताल) को सहयोगमा क्यामेरा ट्यापिङ्को काम गरेको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मङ्सिर ५ गतेबाट वनमा राखिएका क्यामेरा निकाल्न थालेका छन् ।

उनका अनुसार क्यामेरा ट्यापिङ्को विधिबाट बाघको अवस्थाबारे जानकारी लिएको छ । माडीको सोमेस्वर क्षेत्रबाट क्यामेरा ट्यापिङ्को काम सुरु गरेको थियो । यसका लागि ६२ क्यामेरा दुई वर्ग किलोमिटरको फरकमा जडान गरी बाघको अवस्थाबारे जानकारी लइएको तिवारीले बताएका छन् । तीन ब्लकमा विभाजन गरी क्यामेरा ट्यापिङ्को काम गरेको उनले जानकारी दिएका छन् ।

उनले भने, ‘एउटा ब्लकमा १७ देखि २१ ग्रिड निर्माण गरी क्यामरा जडान गरिएको थियो । एउटा ग्रिडमा एक जोडी क्यामेरा जडान गरिएको थियो । बाघको सम्भावित क्षेत्रको अध्ययन गरी ग्रिड बनाएर क्यामेरा जडान गरिएको हो । क्यामेरा निकालेर अहिले अध्ययनको काम भइरहेको छ ।’

त्यस्तै, अध्ययनका लागि प्राविधिक टोली खटिएको भन्दै उनले अहिले फोटो सङ्कलन तथा फोटोहरुको अवस्थाका बारेमा अध्ययन भइरहेको जानकारी दिए । फोटोमा देखिएका बाघको पाटाको आधारमा अवस्थाबारे अध्ययन गर्नेछन् । अबको एक महिनाभित्र सो क्षेत्रमा रहेका बाघको अवस्थाका बारेमा प्रतिवेदन तयार गर्ने सूचना अधिकारी तिवारीले जानकारी दिएका छन् ।

टाइगर इकोलोजिकल मोनिटरिङ् अफ सोमेश्वर हिल कार्यक्रमअन्तर्गत बाघको बासस्थान र अवस्थाको अध्ययन गरेको निकुञ्जले जनाएको छ । निकुञ्जका सूचना अधिकारी तिवारीका अनुसार सन् २०१८ मा सो क्षेत्रमा तीन वटा बाघ रहेकामा सन् २०२२ मा यो सङख्या बढेर आठ पुगेको छ ।

सोमेश्वर पर्वत माला र भारतको बाल्मिकी टाइगर रिजर्भ क्षेत्र पर्ने भएकाले त्यहाँ बाघको बासस्थान, आहारा र अवस्था कस्तो रहन्छ भन्ने विषयमा अध्ययनका लागि क्यामेरा ट्यापिङ् गरेको हो । यसले बाघ संरक्षणसम्बन्धी योजना निर्माणका लागि सहयोग पुग्ने छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्