पक्राउ पुर्जीविरुद्ध नेपाल कम्युनिस्ट पार्टीबाट आन्दोलनको घोषणा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जिल्ला अदालत काठमाडौँले जारी गरेको पक्राउ पुर्जीविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । पार्टीका महासचिव विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा र माइला लामालगायतका नाममा अदालतले पक्राउ पुर्जी जारी गरेपछि नेकपाले आन्दोलनको घोषणा गरेको हो ।

महासचिव विप्लवले मंगलबार अदालतको पक्राउ पुर्जीसम्बन्धमा एक सुचना जारी गर्दै अदालतको उक्त आदेश २०७७ फागुन २१ गते सरकारसँग भएको तीन बुँदे सहमतिको ठाडो उल्लंघन भएको जनाएका छन् । साथै, देशका समस्यालाई शान्तिपूर्ण तरिकाले निकास दिन भइरहेका गम्भीर पहलमाथिको विध्वंसात्मक हमला भएकोसमेत जनाएका हुन् ।

अदालतमा बसेका न्यायाधीशले प्रदर्शन गरेको यस्तो गैरकानुनी, असभ्य एव अराजक कार्यको पार्टीले घोर भर्त्सना गर्ने जनाउँदै यस्ता वितण्डावादी कार्य रोक्न नेकपाले माग गरेको छ । विप्लव नेतृत्वको नेकपाले मंसिर १९ गते (आज) साँझ साढे ५ बजे मसाल जुलुस निकाल्ने जनाएको छ । साथै, मंसिर २० गते दिउँसो ३ बजे न्यायाधीशको पुत्ला दहन र मंसिर २१ गते दिउँसो २ बजे देशव्यापी जनप्रदर्शनको कार्यक्रम घोषणा गरेको हो ।

यस्तै, नेकपामाथिको प्रतिबन्ध हटाउँदा सरकारसँग भएको सहमतिको ३ बुँदा मध्ये एकमा पार्टीका नेता कार्यकतामाथि लगाइएका मुद्दा फिर्ता लिने र बन्दीहरुलाई मुक्त गर्ने रहेको महासचिव चन्दले उल्लेख गरेका छन् । उनले ३ बुँदे सहमति यथाशीघ्र कार्यान्वयन गर्न, मुद्दाहरु खारेज गर्न र बन्दी नेता तथा कार्यकर्तालाई मुक्त गर्न सरकारसँग माग गरेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्