मुग्लिन-पोखरा सडक: एकतर्फी कालोपत्र सम्पन्न

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । मुग्लिन पोखरा सडक विस्तारअन्तर्गत तनहुँमा एकतर्फी कालोपत्र सम्पन्न भएको छ । मुग्लिन पोखरा सडक विस्तार योजनाको पूर्वी खण्डअन्तर्गत आँबुखैरेनी र बन्दीपुरमा ९ किलोमिटर खण्ड एकतर्फी कालोपत्र सम्पन्न भएको हो ।

पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार बन्दीपुर गाउँपालिका-१ नाहालादेखि छिर्कनेसम्म ५.५ किलोमिटर र आँबुखैरेनी गाउँपालिका-१ बरादीमा ३.५ किलोमिटर खण्ड कालोपत्र सकिएको छ । उनले भने, ‘दुई ठाउँमा एकतर्फी रुपमा ९ किलोमिटर खण्ड कालोपत्र सकिएको छ । केही समयपश्चात् अर्कोतर्फ पनि कालोपत्रको काम हुनेछ ।’

सडक आयोजनाले गत असारमा आँबुखैरेनीको बरादीमा सडक कालोपत्र गरेको हो भने नाहाला खण्डमा तिहारका बेला कालोपत्रको काम सकेको हो । पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको दूरी ४१ दशमलव ४५ किमी रहेको छ । आँबुखैरेनीको मार्कीचोकदेखि बरादीसम्मको खण्डमा कालोपत्रको काम उनले थालेको हो ।

पाण्डेका अनुसार पहिला कालोपत्र भइसकेको बरादीसम्म मार्कीचोकदेखि कालोपत्र जोड्न काम थालिएको हो । उनले भने , ‘यस अगाडि बरादीमा कालोपत्र भएको ठाउँमा जोड्ने गरी मार्कीचोकदेखि काम सुरु भएको छ । सवारी साधनको आगमनलाई ध्यानमा राखेर अहिले एकतर्फी मात्रै कामहरू भइरहेको छ ।’

पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिन पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा धमाधम काम भइरहेको छ । आँबुखैरेनीदेखि जामुनेसम्मको खण्डमा काम तीव्र गतिमा अगाडि बढेको पाण्डेको भनाइ छ । पूर्वी खण्डमा सडक फराकिलो बनाउने, पक्की पुल तथा कल्भर्ट निर्माणले पनि गति लिएको छ । यो खण्डमा हालसम्म ३८ प्रतिशत काम सकिएको छ ।

त्यस्तै, राजमार्ग विस्तारका लागि पूर्वी खण्डमा घर तथा टहरा हटाउने काम चलिरहेको छ । यो खण्डमा ६ सय ३१ घरटहरा भत्किनेछन् । त्यसका लागि  २२ करोड ४५ लाख रुपैयाँ मुआब्जा वितरण गर्नेछन् । पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । कूल ४१ दशमलव ४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म छ ।

पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ भदौसम्म छ । पश्चिम खण्डको काम भने सुस्त भएको छ ।

विसं २०२६ मा रेखांकन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंकको ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ । चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५-२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ ।

डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्