दूरसञ्चार प्राधिकरणलाई एनसेलको पत्र: ‘कानुनको पालना गर्छौं, विस्तृत विवरण छिटै पठाउँछौँ’

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । एनसेलले सेयर खरिद-बिक्रीबारे नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र पठाएको छ । अर्थ समितिको (आज) बुधबारको बैठकमा दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सेयर खरिद-बिक्रीबारे एनसेलसँग जानकारी माग गरेकोमा त्यसको जवाफ प्राप्त भएको बताएका छन् ।

खनालका अनुसार एनसेलको सेयर खरिद-बिक्रीबारे जानकारी मागसहित प्राधिकरणले मङ्सिर १५ गते पत्राचार गरेकोमा मङ्सिर १९ गते त्यसको जवाफ प्राप्त भएको छ । सेयर खरिद-बिक्रीसँग सम्बन्धित कागजात सङ्कलनका क्रममा रहेको र नेपालको विद्यमान कानुनी प्रावधानभित्र रहेरै त्यसबारे सम्बन्धित निकायलाई जानकारी दिने तयारी रहेको खनालको भनाइ छ ।

त्यस्तै, समितिमा एनसेलको सेयर खरिदबिक्री शङ्कास्पद देखिएमा प्राधिकरणले थप छानबिन गर्ने अध्यक्ष खनालले जानकारी दिएका छन् । प्राधिकरणको २ अर्ब २५ करोड रुपैयाँ बेरुजु बक्यौताबारे पनि समितिले प्राधिकरणसँग जवाफ माग गरेको थियो । सो सन्दर्भमा विभिन्न ९ वटा दूरञ्चार सेवा प्रदायक कम्पनीबाट असुल उपर गर्नुपर्ने बक्यौता तीन महिनाभित्र बुझाउन पर्ने प्राधिकरणले जनाएको छ ।

अर्थ समितिको बुधबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लेले एनसेलको व्यवस्थापनलाई अर्थसमितिमा बोलाएर जानकारी माग्नुपर्ने बताएका छन् । उनले भने,’एनसेल आजियटा लिमिटेडका प्रमुख कार्यकारी अधिकृत, एनसेलका नेपाली मूलका साझेदारलाई समितिमा बोलाएर यस विषयमा अर्थसमितिले पत्र काटोस् । लगानी सम्मेलन गर्ने भनिरहेका बेला नेपालमा प्रत्यक्ष लगानी गरिरहेको कम्पनी बाहिरिनुले नेपालको प्रतिष्ठामा आँच पुग्ने अवस्था आएको छ । यस प्रकरणले नेपालमा लगानी गर्न चाहेने विदेशी लगानीकर्तामाझ नकारात्मक सन्देश जाने छ ।’

यस्तै, समितिका सांसदहरु दीपक खड्का, विराजभक्त श्रेष्ठ, गङ्गा कार्की, पूर्णबहादुर तामाङलगायतले एनसेल खरिदबिक्री प्रकरणबारे गम्भीर छानबिन गर्नुपर्ने धारणा राखेका छन् । यति ठूलो व्यावसायिक कारोबारबारे राज्यका निकायलाई जानकारी नहुनु लज्जास्पद हो । साथै, विद्यमान कानुनको उल्लङ्घन रहेकाले यसबारे राज्यका निकायले गम्भीर भएर अनुसन्धान थाल्नुपर्ने सांसदहरुको धारणा रहेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्