७ महिनामा १५ अर्ब २४ करोड रुपैयाँ बराबरको विद्युत भारततर्फ निर्यात

Ad
  • कालोपाटी सम्बाददाता
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले ७ महिनामा १५ अर्ब २४ करोड रुपैयाँ बराबरको विद्युत भारततर्फ निर्यात गरेको छ । विद्युत प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत गत जेठ २८ बाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो ।
यस्तै, प्राधिकरणले यस वर्षको जेठदेखि २० मङ्सिरसम्ममा १ अर्ब ७३ करोड ७१ लाख युनिट विद्युत निर्यात गरी  १५ अर्ब २३ करोड ८० लाख रुपैयाँ आर्जन गरेको हो । प्राधिकरणले यस अवधिमा दैनिक रुपमा अधिकतम ७ सय मेगावाटसम्म विद्युत् निर्यात गरेको थियो । निर्यात गरेको विद्युत्को औसत बिक्री दर प्रतियुनिट आठ रुपैयाँ ७७ पैसा छ । चालु आर्थिक वर्ष २०८०-८१ को साउनदेखि २० मङ्सिरसम्ममा  १३ अर्ब २३ करोड ६७ लाख रुपैयाँको विद्युत निर्यात गरेको छ । यस अवधिमा १ अर्ब ४७ करोड ६७ लाख युनिट विद्युत निर्यात भएको छ । निर्यात गरेको विद्युत्को औसत बिक्री दर प्रतियुनिट ८ रुपैयाँ ९६ पैसा छ ।
सुक्खायाम सुरु भएसँग खोला तथा नदीहरुमा पानीको बहाव घटी देशभित्रका जलविद्युत गृहहरुबाट उत्पादन घट्न सुरु भएको छ । तर, जाडोसँगै आन्तरिक माग बढेपछि त्यसलाई पूर्ति गर्न भारतीय बजारबाट विद्युत आयात सुरु भएको छ । शुक्रबार रातिबाट विद्युत निर्यात बन्द हुनेछ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले दैनिक रुपमा विद्युत्को अधिकतम माग १ हजार ७ सय मेगावाटको हाराहारीमा रहेको र त्यसलाई पूर्ति गर्न आन्तरिक उत्पादनले मात्र नधान्ने हुँदा थोरै परिमाणमा विद्युत आयात सुरु गरिएको बताए । कार्यकारी निर्देशक घिसिङले भने, ‘अहिले विद्युत उत्पादन र माग करिब करिब बराबरी छ । हाम्रा अर्धजलाशययुक्त विद्युत गृहहरुमा दिउँसो र राति पानी जम्मा गरी साँझ र बिहानको पिक सययमा चलाइरहेका छौँ ।’
उनले भने, ‘पिक समयमा आयात गर्दा विद्युत्को दर महँगो पर्छ भने दिउँसो र रातिको दर सस्तो पर्छ । त्यसैले देशभित्रका अर्धजलाशययुक्त आयोजनाहरुमा दिउँसो र राति पानी जम्मा गरी उक्त समयमा आयात गर्दा सस्तो दरमा पाइने विद्युत थोरै परिमाणमा मात्र आयात सुरु गरिएको छ ।’ उनले चैत र वैशाखमा विद्युत आयातको परिणाम केही बढेता पनि यस वर्ष आयातभन्दा निर्यात बढी भई खुद निर्यातकर्ता बन्ने अवस्था प्रक्षेपण गरिएको जानकारी दिए । ‘आगामी वैशाखको दोस्रो हप्ताबाट विद्युत निर्यात पुन:सुरु हुने छ ।
 त्यस्तै, ‘यस वर्ष करिब नौ सय मेगावाट राष्ट्रिय प्रसारण प्रणालीमा थपिँदैछ ।  त्यसैले अर्को वर्ष करिब  २५ अर्बको विद्युत निर्यात हुनेछ । दुई देशबीचको प्रसारण सञ्चालन सुधारका लागि ठूलो क्षमताका लाइनहरु बनिरहेका छन् भने देशभित्र पनि जलविद्युत् आयोजनाहरुको निर्माण भइरहेका छन् । त्यसैले आगामी पाँच वर्षभित्रमा वार्षिक रुपमा करिब रु एक खर्ब बराबरको विद्युत् निर्यात हुने अवस्था बनिरहेको छ’, घिसिङले भने ।
प्राधिकरणले जेठमा  २१ करोड ६० लाख रुपैयाँ, असारमा १  अर्ब ७८ करोड ५३ लाख, साउनमा  २ अर्ब १४ करोड ७६ लाख र  भदौमा  ३ अर्ब ४७ करोड ८५ लाख बराबरको विद्युत निर्यात गरेको छ । यसैगरी, असोजमा ४ अर्ब १७ करोड ७७ लाख, कात्तिकमा २ अर्ब ६९ करोड ७० लाख र २० मंसिरसम्ममा  ७३ करोड ५९ लाख विद्युत निर्यात गरी आर्जन भएको छ । प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ । प्रााधिकरणले आइएक्सको डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत र मध्यकालीन विद्युत सम्झौताबमोजिम करिब एक सय १० मेगावाट विद्युत भारतीय कम्पनी एनटिपिसी विद्युत् व्यापार निगम लि-एनभिभिएनलाई बिक्री गरिरहेको थियो । एनभिएनले उक्त विद्युत हरियाणा राज्यमा बिक्री गरेको थियो ।
यस्तै, भारतको केन्द्रीय विद्युत प्राधिकरणले प्रतिस्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिइएकै पाँच सय २२ मेगावाटमध्येबाट पहिलो चरणमा करिब ४४ मेगावाट विद्युत रियल टाइम मार्केटमा बिक्रीलाई पनि अनुमति दिएको छ । नेपाल विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा ५ सय ४७ मेगावाट र एनभिभिएनलाई १ सय १० मेगावाट गरी ६ सय ५७ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृति पाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्