ठूलोखोला जलविद्युत् आयोजनाको टनेल ‘ब्रेकथ्रु’

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । ठूलोखोला जलविद्युत् आयोजनाको टनेल ‘ब्रेकथ्रु’ भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका-८ कुइनेमङ्गलेमा निर्माणाधीन २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको टनेल ‘ब्रेकथु्र’ भएको हो ।

इन्लेट र आउटलेट गरी दुई ठाउँबाट मात्रै टनेल निर्माण गरिरहेको आयोजनाले करिब २० महिनामा २ हजार ७ सय मिटर लामो मुख्य सुरुङ (हेडरेस टनेल)  निर्माण गरेको हो । संयुक्त ऊर्जा लिमिटेडले निर्माण गर्न लागेको उक्त आयोजनामा २०७८ मङ्सिरदेखि टनेल निर्माण सुरु भएर शनिबार टनेल ब्रेकथ्रु गरेको आयोजनाका प्रमुख रवीन्द्र हमालले जानकारी दिएका छन् ।

उनका अनुसार हिमाली क्षेत्र र प्राकृतिक प्रकोपलगायत कारण आयोजनामा करिब २० महिनामात्रै नियमितरूपमा काम भएको छ । उनले भने, ‘आयोजनाको सबैभन्दा कठिन मानिने टनेल जोड्ने काम सकिएको छ । ड्यामसाइड र विद्युत्गृहमा समेत धमाधम काम भइरहेको छ ।’

यस्तै, सत्तरी प्रतिशत निर्माण सम्पन्न भएको यस आयोजनामा आगामी आठ महिनाभित्र निर्माण सकेर विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ । रघुगङ्गा नदीस्थित फेदीखोलामा मुहान रहने उक्त आयोजनामा पानीलाई छरीस्थित रघुगङ्गा नदीको किनारमा रहने विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गर्नेछन् । आयोजनामा ६ सय मिटर पेनस्टक टनेल रहनेछ । ४ सय ९५ मिटर पेनस्टक टनेल खनिसकेको छ भने १ सय मिटर भर्टिकल पेनस्टक टनेलमध्ये ५० मिटर खन्न बाँकी रहेको छ ।

उक्त आयोजनामा अहिले करिब २ सय २५ जना कामदारले नियमितरूपमा काम गर्दै आएका छन् । गैरआवासीय नेपाली र नेपालीहरूको ३० प्रतिशत लगानी रहेको यस आयोजनामा ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाको लगानी रहेको छ । यस आयोजनामा नेपाल बैंक लिमिटेडको नेतृत्वमा सनराइज बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंकले लगानी गरेको आयोजनाले जनाएको छ ।

त्यस्तै, सो आयोजनामा गत असारमा आएको बाढीले बाँधतर्फ निर्माणाधीन पूर्वाधारमा क्षति पुर्याएपछि आयोजनको निर्माणकार्य केही पछि धकेलिएको हो । आयोजनाको सिभिल ठेकेदार कम्पनी साकुरा पावर-त्रिपल एस जेभीले आवश्यक जनशक्ति र मेसिन उपकरण परिचालन गरेर आयोजनालाई थप गरेको लक्ष्यमा सम्पन्न गर्ने तयारी गरेको जनाएको छ ।

आयोजना सम्पन्न गर्न करिब ३ अर्ब ६० करोड रुपैयाँ लागत अनुमान गरेको छ । आयोजनाबाट उत्पादन हुने विद्युत्लाई केन्द्रीय प्रसारण लाइनमा जोड्नका लागि २३ किलोमिटर लामो प्रसारण लाइन निर्माणको चरणमा छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्