अर्थतन्त्रका सूचकमा सुधार हुँदै गएको छ: अर्थमन्त्री महत

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्रका सूचकहरुमा सुधार हुँदै गएको बताएका छन् । नेपाल ट्रेड युनियन कांग्रेसद्वारा (आज) बिहिबार ललितपुरमा आयोजित ओैद्योगिक नीति तथा श्रम सम्बन्ध विषयक कार्यक्रममा उनले यस्तो बताएका  हुन् ।

उनले पर्यटकहरुको वृद्धि हुँदै गएको, बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर घट्दै गएको, रेमिट्यान्स बढ्दै गएको जानकारी गराउँदै अहिले अर्थतन्त्रका सबै सुचकहरुमा सुधार हुँदै गएको बताएका छन् । महतले भने, ‘अहिले अर्थतन्त्रका सूचकहरुमा सुधार हुँदै गएको छ । पर्यटकको वृद्धि हुँदै गएको छ, ब्याजदर घट्दै छ, रेमिट्यान्स पनि बढ्दैछ । हामीले छलफल गरेर मौद्रिक नीतिमा पनि केही लचिलो बनाउन प्रयत्न गरेका छौँ । विस्तारै उद्योग व्यवसाय पनि सबल बन्दै जानेछ, श्रमिककको माग पनि वृद्धि हुँदै जाने छ, श्रमिकहरु विस्थापित हुने अवस्था अन्त्य हुनेछ । नेपालको अर्थतन्त्र समस्यामा थियो, अहिले हामी हटाउन लागेका छौं ।’

उनले बेरोजगारहरुलाई पनि रोजगारको अवसर सिजना गर्न ट्रेड युनियनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् । उनले श्रमिक र उद्योग व्यवसायीबीच निरन्तर वार्ता तथा सम्वादमार्फत एकअर्कालाई बुझ्नुपर्ने र सम्बन्धलाई सुमधुर बनाउनु पर्ने धारणा राखेका छन् । उनले सरकारले नेपालमा लगानी भित्र्याउनका लागि आगामी वैशाखमा लगानी सम्मेलन गरिने बताएका छन् ।

यस्तै, महतले बाहिरबाट आयात हुने सामानको तुलनामा नेपालमा उत्पादन हुने ओैद्योगिक सामानको लागत कम गर्न नसकिएको उल्लेख गर्दै सक्रिय श्रमिकहरुको क्षमतालाई प्रोत्साहन गर्न पनि नसकिएको धारणा राखेका छन् । उनले उत्पादकत्व कम हुँदा समयसापेक्ष श्रमिकको पारिश्रमिक बढ्न नसकेको धारणा व्यक्त गरेका छन् । उनले भने, ‘उत्पादकत्व बढाउने हाम्रो चुनौती छ, यसका लागि पूर्वाधारको विकास आवश्यक छ ।’

उनले सरकारको प्राथमिकता पूर्वाधार विकासमा रहेको जानकारी दिएका छन् । उनले यातायातको लागत कम गर्न र कामदारहरुको ज्ञान तथा क्षमताको सही उपयोग हुन आवश्यक रहेकामा जोड दिँदै लागत कम गर्ने कुरामा उद्योगी व्यवसायीले नयाँ प्रविधि उपयोग गर्नुपर्ने र श्रमिकका सङ्गठनहरुले पनि श्रमिकको क्षमता अभिवृद्धिमा लाग्नुपर्नेमा ध्यानाकर्षण गराएका छन् ।

श्रमिकका अधिकारका कुरामा हस्ताक्षर गर्नेमा नेपाल अगाडि नै रहेको उल्लेख गर्दै अर्थमन्त्री महतले कतिपय कुरा पूरा गर्न स्रोतको सुनिश्चितता हुन नसक्दा समस्या भएको बताएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्