तरुण दलद्धारा भूकम्प पीडितका लागि अस्थायी आवास निर्माण

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा परी घरबास गुमाएकाहरुका लागि नेपाल तरुण दलले अस्थायी आवास निर्माण गरिदिने भएको छ । सो प्रयोजनका लागि नेपाल तरुण दलको एक टोली (आज) मंगलबार जाजरकोट प्रस्थान गरेको हो ।

यसअघि त्यहाँ विभिन्न राजनीतिक दल तथा तिनका भ्रातृ सङ्गठनले पीडितका लागि अस्थायी आवास निर्माण गर्ने काम गरिरहेका छन् । सोही बमोजिम तरुण दलले पनि आवास निर्माणका तरुण अध्यक्ष विद्वान गुरुङको नेतृत्वमा ३० जना केन्द्रीय सदस्यको टोली आवश्यक निर्माण सामग्रीसहित आज काठमाडौँबाट त्यसतर्फ प्रस्थान गरेको केन्द्रीय सदस्य दीपेन्द्र पोखरेलले जानकारी दिएका छन् ।

उनका अनुसार उक्त टोलीले पहिलो चरणमा अर्थात् यस पटक जाजरकोटका भूकम्प पीडितका लागि कम्तिमा ६० देखि एक सयवटा आवास निर्माण गर्ने लक्ष्य लिएको छ । गत कात्तिक १७ गते राति जाजरकोट केन्द्रविन्दु भएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पमा ठूलो मात्रामा मानवीय र भौतिक क्षति भएको थियो । भूकम्पका कारण भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमका अधिकांश घर क्षतिग्रस्त भएका छन् ।

यस्तै, सरकारले अस्थायी आवास निर्माणका लागि ५० हजार रुपैयाँ दिने घोषणा गरेको छ । तर, पनि सबै पीडितका अस्थायी आवास निर्माण हुन सकेको छैन । पछिल्लो समयमा मौसमी प्रतिकूलताका कारण भूकम्प प्रभावितको जनजीवन दिन प्रतिदिन कष्टकर बन्दै गइरहेको छ ।

भूकम्प प्रभावित त्रिपालमुनि रात बिताउन बाध्य छन् । अहिलेको जाडोमा त्रिपालले समेत थेग्ने अवस्था नहुँदा प्रभावितले अस्थायी आवास छिटो निर्माण गर्न सरकारसँग आग्रह गरिरहेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्