तनहुँ जलविद्युत् आयोजना: मुख्य सुरुङ खन्ने कार्य अन्तिम चरणमा, ट्रान्समिटरको कार्य पुन:सुरु 

Ad
  • कालोपाटी सम्बाददाता
काठमाडौँ । तनहुँको ऋषिङ गाउँपालिका-झापुटारमा निर्माणाधीन १ सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको निर्माण कार्य भइरहेको छ । आयोजनाको मुख्य सुरुङ खन्ने कार्य अन्तिम चरणमा पुगेको छ । अब २ सय १० मिटर सुरुङ खन्न बाँकी रहेको आयोजना प्रमुख राजभाइ शिल्पकारले जानकारी दिएका छन् ।
आयोजनाको मुख्य सुरुङतर्फ कूल १ हजार ४ सय ५६ मिटर खन्नुपर्नेमा हालसम्म १ हजार २ सय ४६ मिटर खन्ने कार्य सम्पन्न भएको छ । सुरुङ खन्ने र ड्याम निर्माणका लागि दायाँबायाँ जग खन्ने कार्यलाई तीव्रता दिएको उनले बताएका छन् । दसैँ, तिहारलगायत चाडपर्वको समयमा पनि आयोजनाको निर्माण कार्यलाई निरन्तरता दिएकाले समग्रमा भौतिक प्रगति ४८ प्रतिशत पुगेको आयोजनाले जनाएको छ ।
यस्तै, आयोजनाको हालसम्म ४२ प्रतिशत आर्थिक प्रगति भएको छ । प्रत्येक महिनामा एक प्रतिशत कार्य प्रगति हुने गरेको आयोजना प्रमुख शिल्पकारले जानकारी दिएका छन् । तीनवटा प्याकेजमा गरी दैनिक १ हजार ५ सयको हाराहारीमा जनशक्ति परिचालन गरी आयोजनाको निर्माण कार्यलाई निरन्तरता दिएको हो ।
ट्रान्समिटरको कार्य पुन:सुरु 
तनहुँ जलविद्युत् आयोजनाको प्याकेज-३ अन्तर्गत ट्रान्समिटरको कार्य रोकिएको करिब छ महिनापछि पुन:सुरु गरेको छ । वनको नीतिगत समस्याका कारण रोकिएको निर्माण कार्य पुन:सञ्चालन भएको तनहुँ जलविद्युत् आयोजनाले जनाएको छ ।
प्याकेज-३ अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म दुई सय २० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण गर्नेछ । उक्त कार्यका लागि केइसी इन्टरनेसनल लिमिटेड, भारतसँग विसं २०७५ पुस १० गते भएको खरिद सम्झौता गरी विसं २०७५ फागुन १० बाट कार्यान्वयनमा आएको थियो । उक्त आयोजनामा पर्ने ३४.७ किमी प्रसारण लाइनमा ९४ वटा टावरमध्ये ७० टावरको जग हालिएको छ भने ३४ टावर खडा गरिसकेको छ ।
कम्पनीको पूँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलर रहेको छ । सो रकममध्ये एशियाली विकास बैंकले  १५ करोड, जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले  १८ करोड ४० लाख, युरोपियन लगानी बैङ्कले  ८ करोड ५० लाख र नेपाल सरकार-नेपाल विद्युत् प्राधिकरणले ८ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको आयोजनाले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्