प्रधानमन्त्रीद्वारा उच्च क्षमताको इनरुवा सबस्टेसन उद्घाटन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि महत्वपूर्ण मानिएको इनरुवा सबस्टेसनको आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गरेका छन् । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-४ मा निर्माण भएको ४ सय किलो भोल्ट क्षमताको उक्त सबस्टेसन देशभित्र निर्माण सम्पन्न भएका ठूला सबस्टेसन मध्येका एक हो ।

ग्यास इन्सुलेटेड प्रणाली (जिआईएस) मा आधारित स्वचालित नेपालको दोस्रो ठूलो ४ सय केभी सबस्टेसनको निर्माण सम्पन्न गरी गत असोज अन्तिम साता चार्ज गरिएको थियो । उद्घाटन समारोहमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा मन्त्रालयका उच्च अधिकारी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको उपस्थिति थियो ।

त्यस्तै, पूर्व-पश्चिम विद्युत् आपूर्ति र भारतसँगको विद्युत् व्यापारका लागि जिआइएस प्रविधियुक्त स्वचालित ढल्कबेर मुलुककै पहिलो र इनरुवा दोस्रो ठूलो सबस्टेसन हो । इनरुवामै २२०-१३२-३३ केभीको अर्को सबस्टेसन यसअघि नै निर्माण सम्पन्न भई सञ्चालनमा छ । हेटौँडा-ढल्केबर-इनरुवा ४ सय केभी सबस्टेसन विस्तार आयोजनाअन्तर्गत निर्माण गरिएको ४००-२२० केभी इनरुवा सबस्टेसनमा ३ सय १५ एमभिए क्षमताका तीनवटा पावर ट्रान्सफर्मर छन् ।

इनरुवा-ढल्केबर ४ सय केभी प्रसारण लाइन निर्माण सम्पन्न भएपछि इनरुवा सबस्टेसनबाट करिब चार हजार मेगावाट विद्युत् प्रवाह हुनेछ । इनरुवा-ढल्केबर प्रसारण प्रसारण लाइनको अहिले तार तान्ने काम भइरहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कोशी प्रदेशका विभिन्न जिल्लाका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रसारण गर्न, स्थानीयरुपमा खपत गर्न र देशभित्र खपत गरी बचत भएको विद्युत् भारततर्फ निर्यात गर्न इनरुवा सबस्टेसन मेरुदण्डको रुपमा रहेको जानकारी दिएका छन् ।

कार्यकारी निर्देशक घिसिङले भने, ‘सबस्टेसनबाट राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत् प्रवाहका अतिरिक्त स्थानीयरुपमा आपूर्ति गरिने छ । यसबाट त्यस क्षेत्रमा भोल्टेज सुधार भई विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुने छ । यही सबस्टेसनबाट भारतसँगको विद्युत् व्यापारका लागि इनरुवा-पूर्णिया ४ सय केभी अन्तरदेशीय र नेपाल-भारत तथा बङ्गलादेशबीचको व्यापारका लागि इनरुवा-अनारमनी ४ सय केभी प्रसारण लाइन प्रस्ताव गरिएको छ ।’

यस्तै, घिसिङका अनुसार पूर्व-पश्चिम विद्युत् आपूर्ति गर्न र भारतर्फ थप विद्युत् प्रवाह तथा क्षेत्रीय विद्युत् व्यापारका लागि इनरुवा सबस्टेसन अर्को ठूलो विद्युत् केन्द्र बनेको छ । मोरङ-सुनसरी औद्योगिक करिडोरका उद्योगलाई थप विद्युत् उपलब्ध गराउन र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन इनरुवा सबस्टेसनलाई महत्वपूर्ण मानिएको छ । अरुण तथा तमोर नदी र तिनीहरुका सहायक खोलानालामा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् कोशी करिडोर २ सय २० केभी प्रसारण लाइनमार्फत इनरुवा सबस्टेसनमा जोडिने छ ।

कोशी करिडोरको इनरुवा-वसन्तपुर-तुम्लिङटार खण्ड निर्माण सम्पन्न भइसकेको छ भने वसन्तपुर-ढुङ्गेसाँघु खण्ड निर्माणाधीन छ । यसैगरी तुम्लिङटार-शीतलपाटी २ सय २० केभी प्रसारण लाइन आयोजना पनि निर्माणाधीन छ । अरुण ‘हब’ इनरुवा ४ सय केभी प्रसारण लाइन निर्माण प्रस्ताव गरिएको छ ।

इनरुवा सबस्टेसनलाई आगामी दिनमा विस्तार गर्दै जान मिल्नेगरी निर्माण गरिएको प्राधिकरणको भनाइ छ । बर्खाको समयमा तराईमा हुने डुबान, विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि लागू गरेको बन्दाबन्दी र निषेधाज्ञाका कारण उपकरण तथा प्राविधिक आउन नसक्दा सबस्टेसनको निर्माण प्रभावित भएको थियो । विसं २०७८ कात्तिकमा सबस्टेसन निर्माण क्षेत्रमा आएको बाढीले उपकरणमा क्षति पुगी पुन:आयात गर्नुपर्दा निर्माणमा केही ढिलाइ भएको सम्बन्धित आयोजनाले जनाएको छ ।

आयोजनाअन्तर्गत नै ४ सय केभी ढल्केबर सबस्टेसन निर्माण सम्पन्न भई सञ्चालनमा छ भने हेटौँडा सबस्टेसन निर्माणको अन्तिम चरणमा छ । इनरुवा र हेटौँडा सबस्टेसन निर्माणका लागि २०७५ पुसमा ठेक्का सम्झौता भएको थियो । नेपाल सरकार र प्राधिकरणको लगानीमा निर्माण भएको इनरुवा सबस्टेसनको अनुमानित लागत १ करोड ४३ लाख अमेरिकी डलर र २० करोड ४८ लाख रुपैयाँ रहेको छ । सबस्टेसन निर्माण सुपरीवेक्षण प्राधिकरणको सहायक कम्पनी एनइए इन्जिनियरिङ कम्पनीले गरेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्