नागरिकको अभावमा गाउँ रित्तिदै गएको छ: राष्ट्रपति रामचन्द्र पौडेल

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रपछि गाउँगाउँमा विकास पुगे पनि त्यसको उपभोग गर्ने व्यक्तिको अभावमा गाउँ रित्तिदै गएकोमा चिन्ता व्यक्त गरेका छन् । ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसको ६५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै (आज) मंगलबार उनले यस्तो बताएका हुन् ।

उनले गाउँ रित्तिने अवस्थाको समाधान खोज्न आग्रह गरेका छन् । राष्ट्रपति पौडेलले भने, ‘लोकतन्त्रपछि मुलुकको शिक्षा, सञ्चार, सडक, स्वास्थ्य र विद्युतीकरणको क्षेत्रमा भएको विकासका बाबजुद त्यसको उपभोग गर्ने नागरिकको अभावमा गाउँ किन रित्तिदै छन् ? नीति निर्माण र शासनसत्तामा बस्नेलगायत सबैको चिन्ता आज यसैमा केन्द्रित हुनुपर्छ ।’ उनले शिक्षा र रोजगारीका लागि दैनिक हजारौँ नेपाली नागरिक ताँती लागेर विदेशिने क्रमलाई रोक्ने गरी रोजगारी र सीपमूलक शिक्षा दिन जरुरी रहेको बताएका छन् ।

यस्तै, राष्ट्रपतिले कुनै पनि देशको शिक्षा सामाजिक, आर्थिक अवस्था र आवश्यकताअनुरुप निर्धारण हुनुपर्नेमा जोड दिँदै बदलिँदो परिस्थितिमा देश विकासमा टेवा पुर्याउने र विश्व बजारमा पनि प्रतिस्पर्धी हुनसक्ने शिक्षा नीति तथा कार्यक्रम निर्माण गर्न सुझाव दिएका छन् । उनले भने, ‘यसका लागि सामूहिक प्रयत्न जरुरी छ, जसको थालनी उच्च शिक्षा प्रदान गर्ने शिक्षण संस्थाबाट हुन आवश्यक छ ।’ देशकै पुरानो शिक्षण संस्था सरस्वती बहुमुखी क्याम्पसको वार्षिकोत्सवमा उपस्थित हुन पाउँदा राष्ट्रपति पौडेलले खुसी व्यक्त गरेका छन् । उनले सोही क्याम्पसमा अध्ययन गरेका थिए ।

राष्ट्रपतिले भने, ‘मेरो जीवनको ऊर्जावान समय र मुलुकमा लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलनमा यस क्याम्पसमा पढ्दा मेरो सहभागिता रहेको थियो । म भित्र रहेको राजनीतिक चेतलाई प्रखर बनाउन यस क्याम्पसको वातावरणले दिएको ऊर्जा र प्रेरणा मेरा लागि सदा स्मरणीय रहनेछ ।’ सबै नेपालीका छोराछोरीले शिक्षा प्राप्त गर्न अत्यन्त कठिन भइरहेका ती दिनमा पनि सस्तो सुलभ ढङ्गले उच्च शिक्षा अध्ययन गर्ने अवसर प्रदान गरेको सरस्वती क्याम्पस नेपालको शिक्षा क्षेत्रका लागि प्रेरणाको स्रोत बनेको उनले जनाएका छन् ।

उनले थप्दै भने, ‘क्याम्पससँग अहिलेको अवस्थामा पनि भौतिक संरचना अभाव हुनु चिन्ताको विषय हो । देशको पुरानो र अग्रणी संस्था सरस्वती क्याम्पसको भौतिक पूर्वाधारलगायतमा विशेष सहयोग गर्न म सरकारसँग आग्रह गर्दछु ।’ समारोहमा त्रिभुवन विश्वविद्यालयका कुलपति प्राध्यापक डा.शिवलाल भुसालले नयाँ संस्था स्थापना गर्नेभन्दा पनि भएको संस्थालाई सबलीकरण गरेर जानुपर्ने बताएका छन् । विश्वविद्यालयले राज्यको उत्पादनसँग जोड्ने योजना बनाउनुपर्नेमा जोड दिँदै उनले पढ्दै, सिक्दै र आर्जन गर्दै जाने वातावरण सिर्जना गरिनुपर्ने उल्लेख गरेका छन् ।

क्याम्पसका संस्थापक क्याम्पस प्रमुख शङ्करराज पाठकले राष्ट्रपति पौडेल विद्यार्थीकालमा अत्यन्तै सक्रिय रहनुभएको स्मरण गर्दै उनको सक्रियतामा नै राष्ट्रले विकास र समृद्धि हासिल गर्ने विश्वास व्यक्त गरेका छन् । क्याम्पस प्रमुख गोलमान गुरुङले शैक्षिक गुणस्तरलाई ध्यानमा राखेर क्याम्पसले विविध शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी गराएका छन् । विसं २०१६ पुस १० गते स्थापना भएको सरस्वती बहुमुखी क्याम्पसमा हाल २ सयभन्दा बढी प्राध्यापक र २५ कर्मचारी कार्यरत छन् ।

सो क्याम्पसमा स्नातक र स्नातकोत्तर तहअन्तर्गत विभिन्न शैक्षिक कार्यक्रममा करिब सात हजार विद्यार्थी अध्ययनरत छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्