देवघाटधाम क्षेत्रको सरसफाइमा युवा जुट्दै

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । पवित्र धार्मिक तीर्थस्थल देवघाटधाम क्षेत्रको सरसफाइमा युवा जुटेका छन् । विआर द युथ ‘वे’ ग्रुपका युवाले ६ हप्तादेखि देवघाट क्षेत्रको नियमित सरसफाइ गरेका हुन् ।

उनीहरुले आठ वर्षदेखि नियमित रुपमा भरतपुरमा सरसफाइ गर्दै आएका छन् । फोहरका कारण पवित्र धार्मिक तीर्थस्थल प्रदूषित जनाउँदै गएकाले नियमित सरसफाइ गरिएको ‘वे’ ग्रुपका अध्यक्ष भोजनारायण कँडेलले जानकारी दिएका छन् । अध्यक्ष कँडेलले देवघाट प्रवेशद्वार आँपटारीदेखि झोलुङ्गे पुलसम्मको क्षेत्रमा सरसफाइ गरेको बताएका छन् ।

माघे सङ्क्रान्ति पर्व पनि नजिकिँदै गएकाले देवघाट क्षेत्रलाई सुन्दर र सफा राख्न सफाइ अभियान चलाएको उनले जानकारी दिएका छन् ।हप्ताको एकदिन एकछिन समाजको लागि भन्ने अभियानका साथ चार जनाले सुरु गरेको अभियानमा अहिले सयौँ युवा जोडिएका छन् । युवाले फोहर टिप्दै गाउँघरमा हिँडेपछि मानिसमा सचेतना फैलिएको उनको भनाइ छ । पछिल्लो समय सङ्गठित फोहर कम भएको भन्दै हरेक टोलमा सरसफाइ अभियान चलेको कँडेलको भनाइ छ ।

उनका अनुसार २०७३ साल जेठ २४ गतेबाट सरसफाइ वातावरण संरक्षण अभियान थालिएको हो । सार्वजनिक ठाउँमा फोहर फाल्न हुँदैन भन्ने मानसिकता अझै परिवर्तन नभएको भन्दै उनले गाडीमा यात्रा गर्दा वा पैदलयात्रा गर्दा जथाभावी फोहर नफाल्न अनुरोध गरेका छन् । सार्वजनिक स्थलमा अझ फोहर व्यवस्थापन चुनौतीपूर्ण रहेको भन्दै उनले घरबाटै फोहर व्यवस्थापन गर्न नसक्दा सार्वजनिकस्थलमा जथाभावी फोहर फालिएको सुनाएका छन् ।

महानगरपालिका, नगरपालिका र पालिकाले आ-आफ्नो व्यवस्थित डम्पिङसाइट बनाउने हो भने फोहरको उचित व्यवस्थापन हुने अध्यक्ष कँडेलको भनाइ छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्