रोल्पाका जेष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । जिल्ला स्वास्थ्य कार्यालय रोल्पाले जेष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा प्रदान गर्न थालेको छ । कार्यालयले ८० वर्ष माथिका ज्येष्ठ नागरिक र अपाङ्गता-असक्त (क र ख वर्गका) नागरिकसँग स्वास्थ्य कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यक्रमअन्तर्गत रोल्पाका सबै स्थानीय तहका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीले ज्येष्ठ नागरिकको घरमै गई नि:शुल्क स्वास्थ्यपरीक्षण तथा परामर्श दिन थालेका जनस्वास्थ्य अधिकृत विशाल सुवेदीले जानकारी दिएका छन् । उक्त कार्यक्रम स्वास्थ्य कार्यालयको आयोजना तथा स्थानीय तहको सहकार्यमा भइरहेको उनले जनाएका छन् । यसका लागि जिल्लाभरका करिब तीन सय स्वास्थ्यकर्मी परिचालन गरिएका छन् । जिल्लामा ८० वर्ष माथिका ज्येष्ठ नागरिकको कूल सङ्ख्या २ हजार २ सय ६२ रहेको कार्यालयले जनाएको छ ।

सुनछहरी गाउँपालिकामा ८० वर्ष माथिका ज्येष्ठ नागरिक ४ सय ४१ रहेका छन् । ज्येष्ठ नागरिकको सङ्ख्या सबैभन्दा कम त्रिवेणी गाउँपालिकामा छ । त्रिवेणीमा उक्त सङ्ख्या १ सय मात्र रहेको छ । थवाङ गाउँपालिकामा ८० वर्ष माथिका ज्येष्ठ नागरिकको सङ्ख्या १ सय ७२, परिवर्तन गाउँपालिकामा २ सय ४५, गङ्गादेव गाउँपालिकामा १ सय ६०, माडी गाउँपालिकामा १ सय २८, रोल्पा नगरपालिकामा ३ सय ७, रुन्टिगढी गाउँपालिकामा १ सय ४१, सुनिल स्मृति गाउँपालिकामा २ सय ८८ तथा लुङ्ग्री गाउँपालिकामा २ सय ८० रहेको छ ।

जिल्लामा अपाङ्गता-अशक्तको कूल सङ्ख्या ३ हजार ३ सय ३५ रहेको छ । यसमा ‘क’ वर्गका ६ सय ४ तथा ‘ख’ वर्गका ४ सय ६९ जना रहेका कार्यालयले जनाएको छ । जिल्लामा सरकारी अस्पताल एक, प्राथमिक स्वास्थ्य केन्द्र दुई, स्वास्थ्य चौकी ४९, आधारभूत स्वास्थ्य केन्द्र २२, सामुदायिक स्वास्थ्य एकाई ३४ तथा सहरी स्वास्थ्य केन्द्र पाँच रहेका छन् । जिल्लामा गाउँघर क्लिनिक १ सय ७५, खोप क्लिनिक २ सय २० तथा महिला स्वास्थ्य स्वयमसेविका ४ सय ५९ रहेका कार्यालयले जनाएको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्