काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले भारतका लगानीकर्तालाई नेपालमा आगामी वैशाखमा हुने लगानी सम्मेलनको निम्तो दिएका छन् । भारतको गुजरातमा सुरु भएको भाइब्रेन्ट गुजरात ग्लोबल समिट-२०२४मा भाग लिन पुगेका उनले वैशाख १६ र १७ गते हुने लगानी सम्मेलनमा भारतका लगानीकर्तासँगै अन्य देशका लगानीकर्तालाई पनि आउन निम्तो दिएका हुन् ।
कार्यक्रममा अर्थमन्त्री महतले भने, ‘नेपालमा वैशाख १६ र १७ गते लगानी सम्मेलन हुँदैछ । यो कार्यक्रमबाट म भारतसँगै अन्य देशका लगानीकर्ताहरुलाई पनि निम्तो गर्छु । तँपाईंहरुको इनोभेटिभ बिजनेस आईडिया र लगानीको निर्णयले नेपालको विकासका लागि नयाँ माइलस्टोन खोल्नेछ भन्ने आशा गर्दछु ।’
उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका कामको पनि चर्चा गरे । अर्थमन्त्री महतले जी-२०को अध्यक्षताका लागि बधाई दिँदै मोदीको प्रशंसा गरेका छन् । आफूलाई सन् २०१४ मा नेपालको सदनमा मोदीले गरेको सम्बोधन याद भएको जनाएका छन् । महतले भारत र नेपालबीच पछिल्लो पटक १० हजार मेगावाट विद्युत आगामी १० वर्षमा किन्ने गरि भएको सम्झौताको चर्चा गरेका थिए ।