दूध किसानका समस्या समाधान गर्न गाउँपालिकासँग माग

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । इलामको माईजोगमाई गाउँपालिकाका किसानले उत्पादन गरेको दूध बिक्री नहुँदा समस्यामा परेको गुनासो गरेका छन् । गाउँपालिकाले आयोजना गरेको ‘किसानका समस्या र समाधानका उपाय’ विषयक छलफलमा किसानले पछिल्लो समय जटिलरूपमा देखिएको दूध बिक्री नहुने समस्या समाधान गरिदिन पालिकासँग माग गरेका हुन् ।

किसानले भारी लगानीमा पशुपालन गरे पनि पछिल्लो समय दूधको बजार शून्यझैँ हुँदा आफूहरू निरास हुने अवस्था आएको किसान पारस न्यौपानले बताएका छन् । उनले भने, ‘किसान दूध नबिकेर गम्भीर समस्यामा परेका छन्, यस्तो अवस्थामा स्थानीय सरकारले चासो देखाउनुपर्छ ।’ अर्का किसान सुमन बेघाले किसानको दूधको मूल्य घटेको मात्र नभई डेरी र चिज उद्योगले दूधको पैसा नै दिन छाडेकाले किसान थप मर्कामा परेको बताएका छन् । उनले उत्पादित घीउ, छुर्पी र चिज बिक्री नभएको भन्दै उद्योग सञ्चालकले दूधको भुक्तानी नदिएको बताएका छन् । किसानमात्र नभई उद्योगी र व्यवसायीसमेत मर्कामा परेका छन् । किसानले उत्पादन गरेको दूध नजिकैको डेरी उद्योगले किन्ने गरेको छ ।

डेरीले उत्पादित घीउ र छुर्पी बिक्री नभएपछि किसानलाई भुक्तानी दिन सकिरहेका छैनन् । उत्पादित दुग्धजन्य पदार्थ बिक्री नभएपछि आफूहरुसमेत मारमा परेको व्यवसायी राजेन्द्र लिम्बूले बताएका छन् । उनले भने, ‘हामीले उत्पादन गरेको दुग्धजन्य पदार्थसमेत बिक्री नभएकाले किसानलाई दूधको रकम दिन सकेका छैनौँ । दुग्धजन्य पदार्थ बिक्री नहुँदा व्यवसायीसँगै हजारौँ किसानलाई मार परिरहेको छ । यसले कृषि उद्यम गर्नसमेत व्यवसायीलाई चुनौती भइरहेको छ ।’

गाउँपालिका अध्यक्ष कुशबहादुर थेबेले किसानका समस्या पालिकाले गम्भीर रूपमा लिएको जनाउँदै आफूहरूले गर्नसक्ने समाधानमा सधैँ प्रतिबद्ध रहेको जानकारी दिएका छन् । अध्यक्ष थेवेले भने, ‘किसानका सयौं समस्या छन् । पहिलो कुरा कृषि उत्पादनमै समस्या छ । त्यसपछि उत्पादित वस्तुको बजार समस्या झन् जटिल छ । स्थानीय सरकारले गर्नसक्ने काममा हामी सधैँ तत्पर छौँ । प्रदेश र सङ्घीय सरकारसँग लैजानुपर्ने किसानका समस्यालाई पनि सहजीकरण गरिरहेका छौँ, किसानका तर्फबाट हामीले माग राखिरहेका छौँ ।’

इलाममा निजी क्षेत्रले दैनिक ५३ हजार लिटरको हाराहारीमा दुग्ध खपत गर्दै आएको छ । निजी डेरीमा मात्रै १ हजारभन्दा बढी किसानले दुग्ध बिक्री गर्दै आएका छन् । इलामका १८ चिज कारखाना, १ सय ५० छुर्पी बनाउने उद्योग र १३ दुग्ध मिठाई बनाउने उद्योग रहेको तथ्याङ्क छ । इलाममा वार्षिक १ लाख १६ हजार ८६ मेट्रिकटन दुग्ध उत्पादन हुने गरेको छ । होलिस्टिन, जर्सी गरी इलाममा ३३ हजार ३ सय ७१ उन्नत जातका गाई पालिएको जनाइएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्