वीर अस्पतालमा तालाबन्दी गरे आफैँ आएर खोल्छु: मन्त्री बस्नेत

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा यदि कसैले तालाबन्दी गर्छ भने आफैँ आएर ताला काट्ने बताएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालद्वारा शुक्रबार आयोजित मेमोग्राफी सेवाको उद्घाटन कार्यक्रममा मन्त्री बस्नेतले यस्तो बताएका हुन् ।

उनले वीर अस्पतालमा एक समूहले दिनरात काम गर्ने गरेको र अर्को समूह काम नगर्ने गरेको आफूले थाहा पाएको जानकारी दिएका छन् । उनले भने, ‘मलाई बद्नाम गर्ने उद्देश्यले आफ्नो स्वार्थ पूरा गर्न नभएको प्रचार गर्दै एक समूह हिँडेको छ । ऐन संशोधन गरेर भए पनि उक्त समूहलाई ठेगान लगाउनुपर्ने अवस्था आएको छ ।’ महिलाको स्तन क्यान्सर भएरनभएको परीक्षण गर्ने मेमोग्राफी सेवाको शुभारम्भ गर्दै मन्त्री बस्नेतले बिहान ८ बजेदेखि ओपिडी सेवाको सुरुआत र विशिष्ट व्यक्तिहरुको उपचारका लागि छुट्टै वार्डको व्यवस्थाले सकारात्मक सन्देश दिएको बताएका छन् । उनले क्यान्सरको उपचार व्यवस्थासँगै मुटुरोगसम्बन्धी उपचारको पनि विशेष व्यवस्था गर्नुपर्ने आवश्यकता रहेकामा जोड दिएका छन् ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा भूपेन्द्रकुमार बस्नेतले ‘थ्रिडी टेक्नोलोजी’सहित नतिजा हेर्न सकिने उत्कृष्ट मेसिन जडान गरेको जानकारी दिएका छन् । उनले सघन उपचार कक्षको क्षमता बढाउनुका साथै अब आउने नयाँ शैक्षिकसत्रदेखि एमबिबिएस पढाई हुने व्यवस्था गरिएको बताएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्