मनिषा जिसीले उत्तीर्ण गरिन् १ वर्षमा लोकसेवाका ५ परीक्षा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । गुल्मीकी मनिषा जिसी (विष्णु घर्ती)ले लोकसेवा आयोगले लिएको विभिन्न पदका पाँच परीक्षा एक वर्ष भित्रमा उत्तीर्ण गरेकी छिन् । धुर्कोट गाउँपालिका-३ हाडहाडेकी जिसीले एक वर्षभन्दा छोटो समय अवधिमा परीक्षा उत्तीर्ण गरेकी हुन् ।

उनले कोशी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्थानीय स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, बागमती प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह र सङ्घीय लोकसेवा आयोगअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह उत्तीर्ण गरेकी छिन् । उनले भनिन्, ‘सानैदेखि नर्सिङ विषय पढ्ने रहर थियो । छात्रवृत्तिमा स्टाफ नर्स अध्ययन पूरा गरी करिब पाँच वर्ष करार सेवामा काम गरेँ ।’

यस्तै, परिश्रमका कारण आफूलाई सफलता मिलेको उनको भनाइ छ । उनले एक महिना मात्र तयारी गरेर परीक्षा उत्तीर्ण हुन सफल भएको जानकारी दिएकी छिन् । ‘स्टाफ नर्स उत्तीर्ण गरेपछि विदेश जानेको लर्को लाग्छ’, उनले भनिन्, ‘रुचि र इच्छा भयो भने नेपालमै सम्भव छ, विदेशमा कामलाई खर्चिने समय नेपालमै खर्चिएमा सफल हुन सहज छ ।’ उनले पढाइमा सहयोग गर्ने परिवारका सबै सदस्यलाई आभार व्यक्त दिएकी छिन् ।

उनले स्टाफ नर्स मेडिटेक नर्सिङ कलेज बुटवलबाट विसं २०७५ मा उत्तीर्ण गरेकी हुन् । यसपछि उनले करारमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा तीन वर्ष र धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा २ वर्ष काम गरेकी हुन् । उनले माध्यामिक शिक्षा परीक्षा गाउँकै निन्युखर्क माध्यमिक विद्यालयबाट उत्तीर्ण गरेकी छिन् । उनी हाल बुटवल कालिका क्याम्पसमा स्नातक तह शिक्षा सङ्कायमा अध्यनरत छिन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्