आन्तरिक राजस्व कार्यालय भरतपुरद्धारा लक्ष्यको ६७ प्रतिशत राजस्व सङ्कलन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । आन्तरिक राजस्व कार्यालय भरतपुरले चालु आर्थिक वर्षमा लक्ष्यको ६७.२ प्रतिशत राजस्व सङ्कलन गरेको छ । राजस्व विभागले छ महिनाका लागि रू १३ अर्ब ६ करोड १४ लाख ६० हजार लक्ष्य तोकेकामा पुस मसान्तसम्म रू ८ अर्ब ७८ करोड ९३ लाख ७६ हजार सङ्कलन गरेको जनाएको हो ।

गत आर्थिक वर्षको यही अवधिमा रू ८ अर्ब ७८ करोड ५१ लाख ९३ हजार अर्थात् लक्ष्यको ७५ प्रतिशत राजस्व सङ्कलन भएको थियो । सो वर्ष छ महिनाका लागि रू ११ अर्ब ६५ करोड ८० लाख ९८ हजार लक्ष्य विभागले तोकेको थियो । कार्यालयका प्रमुख निरन भट्टराईका अनुसार छ महिनामा आयकरतर्फ रू १ अर्ब २० करोड ९२ लाख १ हजार, अन्त:शुल्कतर्फ रू ६ अर्ब ६५ करोड २६ लाख ५४ हजार राजस्व सङ्कलन भएको छ ।

यस्तै, मूल्य अभिवृद्धि करतर्फ रू ८४ करोड ७ लाख ९ हजार, ब्याज कर रू ५ करोड ७८ लाख ९९ हजार, घरबाहल कर रू १ करोड ९५ लाख ८८ हजार र स्वास्थ्य सेवा कर रू ९३ लाख २५ हजार सङ्कलन भएको भट्टराईले जानकारी दिएका छन् ।प्रमुख भट्टराईका अनुसार अन्त:शुल्क सङ्कलनमा अपेक्षाअनुसार हुन नसक्दा लक्ष्यअनुसारको राजस्व सङ्कलन हुन नसकेको हो । अन्त:शुल्क राजस्व सङ्कलनमा उत्पादन र निकासी कम हुँदा समस्या आएको उनको भनाइ छ । आर्थिकमन्दीका कारण क्रयशक्ति कम हुँदा समग्र राजस्व सङ्कलनमा कमी देखिएको हो ।

भट्टराईले भने, ‘अनुत्पादक क्षेत्रमा लगानी बढी हुँदा राजस्व सङ्कलनमा कमी आएको अनुमान गरिएको छ ।’ युवा जनशक्ति रोजगारीको सिलसिलामा विदेश पलायन हुनुले समेत राजस्व सङ्कलनमा कमी भएको उनले बताएका छन् । कार्यालयमा ६३ हजारभन्दा बढी करदाता रहेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्