बालीमा जथाभावी रासायनिक मलको प्रयोग गर्दा माटोको उर्वराशक्तिमा ह्रास, माटोमा अम्लीयपन बढ्दा उत्पादन घट्दो

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । किसानले बालीमा जथाभावी रासायनिक मल र विषादीको प्रयोग गर्दा माटोको उर्वराशक्तिमा ह्रास हुँदै जानुको साथै अम्लियपन बढ्दै गएको छ । कोशी प्रदेशमा ८० प्रतिशत अम्लियपनयुक्त माटो रहेको कोशी प्रदेशस्थित माटो तथा मल परीक्षण प्रयोगशाला कार्यालय झुम्का सुनसरीले जनाएको छ ।

किसानले अव्यवस्थित रूपमा रासायनिक मलको प्रयोग गरेकाले माटोले उत्पादकत्व गुमाउँंदै गएको कार्यालयका प्रमुख विगम्बर यादवले बताएका छन् । ‘प्रदेशका विभिन्न ठाउँमा नमुना जाँच गरिएको धेरैजसो माटोमा ८० प्रतिशत अम्लियपन फेला परेको छ । दशवर्ष अघिभन्दा अहिले झण्डै २५ प्रतिशत हाराहारीमा अम्लियपन बढेको छ’, उनले भने । मोरङ बेलबारी नगरपालिकाको सहजीकरण तथा प्रयोगशालाको आयोजनामा बेलबारीस्थित घुम्ती प्रयोगशालामार्फत माटो परीक्षण शिविरमा स्थानीय ५६ किसानको सहभागिता थियो ।

सो शिविरमा किसानद्वारा परीक्षणका लागि ल्याइएका माटोको अम्लिय, क्षारीय, नाईट्रोजन, फस्फोरस, पोटास, प्राङ्गारिक पदार्थ र माटोको भूवनोट जाँच गरिएको प्रमुख यादवले जनाएका छन् । उनका अनुसार समग्र प्रदेशभरीको माटोमा प्राङ्गारिक मलको मात्रा निकै कम देखिएको छ  । ‘जसमा नाईट्रोजन ५६, फस्फोरस ६२ र पोटास ७४ प्रतिशतले कमी देखिएको छ । यो खेतीयोग्य जमिनका लागि दुर्भाग्य हो’, उनले भने । अम्लियपन माटोमा प्रत्येक वर्ष बढ्दै गएको छ । बर्सेनि रासायनिक मलको प्रयोग बढ्दै जानु र प्राङ्गारिक मलको प्रयोग घट्नु, बाली सघनता बढ्नु र बाली चक्र नअपनाउनाले माटोको उर्वरा शक्ति घट्दै गएको यादवको भनाइ थियो ।

‘माटोमा रासायनिक मलको प्रयोग बढ्दो छ । सन्तुलित रुपमा मलको प्रयोग गर्दै प्राङ्गारिक पदार्थ बढाउनुपर्छ’, कृषि विज्ञ राजेन्द्र उप्रेतीले भने, ‘बालीचक्र बिचमा एक पटक कोसेबाली लगाउनु अनिवार्य छ ।’ सजिलोको नाममा मकै, धानलगायत बाली उठाइसकेपछि बोटलाई खेतमै जलाउने गर्नाले माटोको गुणलाई नष्ट गरी गड्यौला, कमिलालगायत जीवलाई समेत नष्ट गर्ने उनले जानकारी दिएका छन् । कृषि विज्ञ उप्रेतीले भने, ‘माटोमा पाइने गड्यौला, कमिलालगायत जीवले माटोलाई उर्वर बनाउन मद्दत गर्छन् । यसरी खेतमा आगो लगाउँदा ती जी जलेर नष्ट हुँदा माटोको उर्वराशक्तिमा पनि कमी ल्याउछ ।’

माटोमा भएको अम्लियपन सुधारका लागि खेतीयोग्य जमिनमा हुने उत्पादन क्षमता कायम राख्नुपर्ने उनको भनाइ छ । माटोको उत्पादन बढाउन नियमित माटो परीक्षण गराउने, चुन र प्राङ्गारिक मलको प्रयोग बढाउनेलगायत काम गर्नुपर्ने कृषि प्राविधिकले सुझाव दिएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्