जाजरकोट भूकम्पपीडितका लागि रू २८ करोड ७१ लाख सङ्कलन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । जाजरकोट भूकम्प प्रभावितको सहयोगका लागि प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा हालसम्म रू २८ करोड ७१ लाख ४१ हजार ६ सय ६५ बराबर सङ्कलन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उपलब्ध गराएको विवरणअनुसार सोमबारसम्ममा विभिन्न सङ्घसंस्था तथा व्यक्तिका तर्फबाट सो बराबरको सहयोग रकम सङ्कलन भएको हो ।

भूकम्पपछिको उद्धार, राहत वितरण तथा पुन:स्थापनाका लागि विभिन्न व्यक्ति तथा संस्थाबाट सहयोगको घोषणा भएको थियो । उक्त सहयोगलाई एकद्वार प्रणालीबाट सङ्कलन तथा वितरणका लागि प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमार्फत् सहयोग गर्न सरकारले आग्रह गरेको थियो । राहत वितरण तथा पुन:स्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा सहयोग रकम जम्मा गर्न विभिन्न नौवटा बैंकमा खाता रहेका छन् । भूकम्पपीडितलाई राहत तथा पुन:स्थापनाका लागि केही समयअघि मात्र सरकारले रू २ अर्ब बराबर निकासा गर्ने निर्णय गरेको थियो ।

यस्तै, गत पुस २४ गतेको मन्त्रिपरिषद् बैठकले उक्त कोषमा मौज्दात रहेको रकममध्येबाट विपद् व्यवस्थापन कोषलाई रू २ अर्ब उपलब्ध गराउने निर्णय गरेको प्रधानमन्त्री तथा मन्पित्ररिषद्को कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टले जानकारी दिएका छन् । सहायता कोषमा सबैभन्दा धेरै भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङका तर्फबाट रू १ करोड ११ लाख ११ हजार १ सय ११ बराबर सहयोग जम्मा भएको छ ।

बुद्धएयर प्रालि, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमई बैंक लिमिटेड, सूर्य नेपाल प्रालि, नेपाल नागरिक उड्डयन प्राधिकरण, गोर्खा ब्रुअरी प्राइभेट लिमिटेड, युनीलिभर नेपाल लिमिटेड मकवानपुरले समान रू १ करोड बराबर सहयोग गरेका छन् । जाजरकोट भूकम्पबाट ठूलो जनधनको क्षति भएको थियो । पीडितलाई राहत तथा पुन:स्थापनाको काम अहिले पनि सञ्चालन भइरहेको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्