आरन व्यवसाय केही समययता सङ्कटमा पर्दै

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । फलामबाट विभिन्न औजार निर्माण गर्ने आरन व्यवसाय पछिल्लो केही समययता सङ्कटमा पर्न थालेको छ । पुस्तौँदेखि अङ्गाल्दै आएको यो व्यवसाय पुस्तान्तरण हुन नसक्दा सङ्कटमा पर्दै गएको हो ।

आधुनिक उपकरणबाट निर्मित आयातित औजारले प्रभाव जमाउनु अघिसम्म आवश्यक देवीदेवताका मूर्तिदेखि घरायसी औजार आरनबाटै बनाइन्थ्यो । विगतमा यो व्यवसाय ग्रामीण समाजमा निकै प्रचलितत भएकामा अहिले आरनका साथै नयाँ पुस्ताले यसमा चासो नदिँदा संरक्षणमा चुनौती बढेको छ । बागलुङको निसीखोला गाउँपालिका-३का ७३ वर्षीय वीरबहादुर विकले अघिल्लो वर्षसम्म आरन सञ्चालन गरेरै जीविकोपार्जन गर्दै आकामा बुढ्यौलीले गर्दा अहिले काम गर्न नसक्ने अवस्थामा पुगेका छन् । उनका दुई भाई छोराले पनि सानैदेखि यो काममा चासो नै दिएनन् । घरेलु औजार बनाइदिएबापत गाउँलेबाट धान, गहुँ, मकैजस्ता खाद्यान्नको बाली उठाएर परिवारको गुजारा चलाउने गर्थे । आफूले १०-१२ वर्षदेखि नै आरनमा काम गर्न सिके पनि अहिलेका युवाले यसप्रति चासो नदिएको उनको गुनासो छ ।

‘यो हाम्रो पुर्खौँदेखिको पेसा हो, मेरा बाउ, बाजे र जिजुबाले आरनको कामबाटै हामीलाई पालेका हुन् । हामी पनि त्यही काम गरेर यो उमेरसम्म आइपुगेका छौँ, अहिले मेरा हात पाखुराले काम गर्न छोडे । आँखाले देख्न छोडे, त्यही भएर काम गर्न सकिएन’, उनले भने, ‘मेरा नातिहरूले पनि यो पेसा गर्नतर्फ ध्यान दिएनन्, पहिले गाउँमा पनि धेरैले आरन चलाएका थिए, अहिले त धेरै घटे, यो पेसा बचाउन नसकिने भयो ।’

निसीखोला-४ का ६५ वर्षीय हीरामान सुनारको आरन व्यवसायबाटै परिवार अहिलेसम्म जसोतसो चल्दै आएको छ । उनले लामो समय बालीघरेको रुपमा कामसमेत गरेका छन् । बालीघरे बनेर काम गर्दा निकै दुःख खेप्नु परेको नमिठो अनुभव पनि हीरामानले सुनाएका छन् । पहिले-पहिले गाउँसँगै बजारमा पनि आरन व्यवसाय व्यापक मात्रामा सञ्चालन हुने गरेकोमा अहिले निकै कम भएको उनको भनाइ थियो । सुनारले आफूले दुई दशक बढीसमयसम्म बालीघरेका रुपमा काम गर्दा धेरै समस्या भोग्नु परेको हीरामानले बताएका छन् । अहिले आरन व्यवसायका लागि चाहिने गोलको पनि अभाव हुँदै गएको छ । बजारमा थुप्रै रेडिमेड फलामका सामग्री पाउन थालेपछि आरनमा बनाइएका फलामका सामग्रीको प्रयोग घट्नाका साथै बालीघरे प्रथा नरहेको उनको भनाइ थियो ।

निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीले सबै पेसालाई संरक्षण गर्न गाउँपालिकाले आवश्यक सहयोग गरिरहेको जनाएका छन् । पछिल्लो समय ग्रामीण क्षेत्रमा प्रचलित धेरै व्यवसाय धरापमा पर्दै गएकाले त्यसलाई संरक्षण गर्न अनुदान दिनाका साथै आधुनिकीकरण गर्न र नयाँ पुस्तालाई यसप्रति आकर्षित गरेर स्वरोजगार बनाइने उनको भनाइ थियो ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्