हिमाली जिल्ला सोलुखुम्बुमा सुन्तलाको उत्पादन बढ्यो, किसानलाई बजारीकरणमा समस्या

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुमा यस वर्ष सुन्तला उत्पादन ४ सय मेट्रिकटनभन्दा धेरैले वृद्धि भएको छ । जिल्लामा गत आर्थिक वर्ष २०७९-८०को तुलनामा चालु आर्थिक वर्ष २०८०- ८१मा ४ सय ६९ मेट्रिकटनले वृद्धि भएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको हो ।

ज्ञान केन्द्रका सूचना अधिकारी कुलबहादुर राईका अनुसार अघिल्लो आर्थिक वर्ष १ हजार ६ सय ९० मेट्रिकटन सुन्तला उत्पादन भएको जिल्लामा यस वर्ष २ हजार १ सय ५९ मेट्रिकटन उत्पादन भएको छ । हाल २ सय ९५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिँदै आएको ज्ञान केन्द्रको तथ्यांक छ । यसमा २ सय ५७ हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाले उत्पादन दिएको सूचना अधिकारी राईले बताएका छन् । यस वर्ष उत्पादन दिने बिरुवाको सङ्ख्या बढेसँगै उत्पादन पनि बढेको उनको भनाइ छ ।

त्यस्तै, जिल्लाको आठ पालिकामध्ये खुम्बु पासाङ ल्हामू गाउँपालिकाबाहेक सबै स्थानीय तहमा सुन्ताल खेती हुने गरेको ज्ञान केन्द्र प्रमुख दुर्गाबहादुर तिरुवाले जानकारी दिएका छन् । उनले भने, ‘सोलुखुम्बु हिमाली जिल्ला भए पनि यहाँको धेरै क्षेत्रमा सुन्तलाखेती राम्रो हुन्छ । खुम्बुमा चिसो भएकाले खेती हुँदैन त्यसबाहेक अरू सबै पालिका क्षेत्रमा यसको खेती राम्रो हुन्छ । गत वर्ष रोग, किरा र फलमा देखिने औँसाले दु:ख दिएकाले सुन्तला उत्पादन घट्यो यस वर्ष बेलैमा उपचार भएर रोग किरा नियन्त्रण हुँदा उत्पादन बढ्यो ।’ जिल्लामा उत्पादित सुन्तलाको झण्डै ६० प्रतिशत हिस्सा थुलुङ दूधकोसीले ओगटेको कृषि ज्ञान केन्द्रले जनाएको छ । थुलुङ दूधकोसीको देउसा क्षेत्र सुन्तलाखेतीको प्रचुर सम्भावना बोकेको ठाउँ भएकाले त्यहाँ बढी उत्पादन भएको ज्ञान केन्द्र प्रमुख तिरुवाले बताएका छन् । देउसालाई जिल्लाको सुन्तला भण्डारकै रुपमा लिइन्छ । सदरमुकाम सल्लेरीस्थित साप्ताहिक हाट नयाँबजारमा बिक्रीका लागि ल्याइने अधिकांश सुन्तला देउसाकै हुने गरेको ज्ञान केन्द्रका सुचना अधिकारी राईको भनाइ छ ।

‘जिल्लालाई देउसाकै सुन्तलाले धानेको छ । अन्य ठाउँहरुमा खासै व्यावसायिक रुपमा सुन्तलाखेती नभए पनि देउसामा व्यावसायिक सुन्तला खेती हुन्छ । यसका कारण देउसाको सुन्तलाले बजार नै ओगटेको छ । त्यहाँको सुन्तला बगान त हेर्दै रहर लाग्दा छन् । देउसाको सुन्तला स्वादको हिसाबले समेत निकै स्वादिष्ट छ त्यही भएर माग पनि राम्रो छ त्यहाँको सुन्तलाको’, उनले भने । ज्ञान केन्द्रको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८-७९मा १ हजार १ सय ३४ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । आर्थिक वर्ष २०७९-८०मा १ हजार ६ सय ९० मेट्रिकटन र चालु आर्थिक वर्ष २ हजार १ सय ५९ मेट्रिकटन सुन्तला उत्पादन भएको ज्ञान केन्द्रको तथ्यांक छ ।

बजारीकरणमा समस्या:

जिल्लामा उत्पादन हुने सुन्तलाको बजारमा भने समस्या रहेको छ । जिल्लाको विभिन्न क्षेत्रमा वार्षिक २ हजार मेट्रिकटनभन्दा धेरै सुन्तला उत्पादन भए पनि बजारीकरणको समस्या रहेको किसानको गुनासो छ । उत्पादित सुन्तलाले बजार नपाउँदा यत्तिकै कुहिएर खेर जाने गरेको देउसाका किसान सङ्गम राईले गुनासो गरेका छन् । उनले भने, ‘सुन्तला धेरै फल्यो भनेर रमाउनु मात्रै हो । बजार छैन, फलेर के गर्नु, त्यतिकै कुहिएर खेर जाने गरेको छ । यहाँको बजारमा कति नै पो बिक्छ र रु धेरै उत्पादन भए पनि खासै भाउ नै छैन, गाउँमा त सबै बस्तुभाउलाई चारो पकाएर दिने हो । त्योभन्दा अरू विकल्प नै छैन ।’

जिल्लामा हाल उत्पादन भएको सुन्तलाको बजार जिल्लाभित्र मात्रै सीमित बनेको छ । जसका कारण बजारीकरणमा समस्या रहेको किसानको दुखेसो छ । देउसाको सुन्तला जिल्ला सदरमुकाम सल्लेरीसम्म ढुवानी गरेर किलोको रु ५० मा पनि बिक्री नहुने गरेको देउसाका किसान अम्बर राईको भनाइ छ । उनले भने, ‘बजार नपाउँदा सिजनमा फलेको सुन्तलाबाट किसानले खासै राम्रो आम्दानी गर्न सकेका छैनन् । बजार सानो छ, खाने मान्छे कम छन् । त्यसैले गर्दा हामीले फलाएको सुन्तलाको केही भाउ छैन । रोग किरा, औँसाबाट कति दु:ख गरेर जोगाउनुपर्छ, फलेपछि बजारमा भाउ छैन, किसानलाई जताबाट पनि घाटा नै घाटा, सुन्तलाखेतीबाट यसो आम्दानी होला कि भनेर बारीभरि सुन्तलाको बोट रोपियो, योबाट पनि खै त आम्दानी यस्तै त रहेछ नि ।’ जिल्लामा उत्पादित सुन्तला व्यावसायिक रुपमा अन्यत्र निर्यात गर्न सकेको छैन ।

थुलुङ दूधकोसी गाउँपालिकाले केही मात्रामा सुन्तला काठमाडौँ पुर्‍याएर बिक्री गरे पनि पालिका क्षेत्रमै उत्पादित सबै सुन्तला ढुवानी गर्ने व्यवस्था हुन नसकेको किसान सङ्गम राईले बताएका । साथै जिल्लामा सुन्तलाबाट जुस उत्पादन गर्ने व्यवस्था नहुँदा फल यतिकै खेर जाने गरेको किसानको दुखेसो छ । स्थानीय सरकारले सुन्तला, कागती, जुनारजस्ता सिजनमा हुने फलहरुबाट जुसहरु तयार गर्न सके किसानको लगानी र मेहनतको सदुपयोग हुने नेलेका सन्तोष खत्रीले बताएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्