अपहरण गरेर ७ लाख रुपैयाँ फिरौती माग्ने २ जना पक्राउ, अन्य फरार व्यक्तिको खोजी जारी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । अपहरण गरेर ७ लाख रुपैयाँ फिरौती माग्ने दुई जना पक्राउ परेका छन् । नुवाकोटको ककनी गाउँपालिका-४का सूर्यबहादुर तामाङलाई अपहरण गरेर ७ लाख रुपैयाँ फिरौती लिन आएका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जिल्लाको ककनी गाउँपालिका-४का राजकुमार तामाङ र शिवपुरी गाउँपालिका-८का चन्द्रबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार गत सोमबार राति बिरामी लिन आफ्नो घर काहुलेबाट ककनी जाने क्रममा सूर्यबहादुरलाई नियन्त्रणमा लिएर रु ७ लाख फिरौती लिन आएका दुई जना पक्राउ परेका हुन् । सो घटनामा संलग्न अन्य फरार रहेकाले उनीहरुको खोजी भइरहेको छ ।

यस्तै, ‘सूर्यबहादुरलाई अपहरण गरेर जिल्लाको पञ्चकन्या गाउँपालिका-५मा पुर्याएर आफन्तसँग फिरौती माग्ने क्रममा रु ७ लाख दिन सहमति भएपछि पीडित परिवारबाट त्यसको सूचना प्राप्त गरेका हौँ ।’ उनले भने, ‘फिरौती बुझ्न आउने क्रममा ककनीका राजकुमार र शिवपुरीका चन्द्रबहादुरलाई नियन्त्रणमा लिएका छौँ ।’ उनीहरुलाई प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दामा हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालतबाट सात दिनको म्याद लिएको जनाएको छ ।

सो घटनामा संलग्न हुनेहरूको सङ्ख्या धेरै भएकाले अन्यको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सञ्जयसिंह थापाको भनाइ छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्