राष्ट्रपतिद्धारा गुणस्तरीय शिक्षाको विकासमा केन्द्रित हुनुपर्नेमा जोड

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अबको शिक्षा प्रणाली गुणस्तरीय शिक्षाको विकासमा केन्द्रित हुनुपर्नेमा जोड दिँदै यस निम्ति सम्बद्ध पक्षलाई इमानदारीपूर्वक काम गर्न आह्वान गरेका छन् । पाँचथरको फिदिमस्थित पाँचथर बहुमुखी क्याम्पसले आर्थिक रूपमा आफूलाई सबल तुल्याउन अक्षयकोष स्थापना गर्ने उद्देश्यले आयोजना गरेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन गर्दै उनले यस्तो आह्वान गरेका हुन् ।

राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रियस्तको शिक्षा आजको आवश्यकता रहेको बताएका छन् । उनले भने, ‘हरेक व्यक्तिलाई व्यावसायिक, स्वावलम्बी र आत्मनिर्भर बनाउने शिक्षा आजको आवश्यकता हो । मुलुकको सर्वाङ्गिण विकासका निम्ति अध्ययन-अध्यापन प्रणालीमा सुधार अपरिहार्य छ । आधुनिक शिक्षाका माध्यमबाट राष्ट्रलाई सबल बनाउनुपर्छ ।’ सूचना प्रविधि, विश्वव्यापीकरण र आधुनिकताले ओतप्रोत भएको वर्तमान विश्वपरिवेशअनुसारको शिक्षा नीति र पाठ्यक्रमको विकासमा उनले जोड दिएका छन् ।

राष्ट्रपति पौडेलले भने, ‘प्रविधियुक्त प्रतिस्पर्धी तथा गुणस्तरीय पठनपाठन पद्धतिको विकास गरी राष्ट्रिय आवश्यकता तथा अन्तर्राष्ट्रिय गुणस्तर अनुरुपको शिक्षा विकास गर्नेतर्फ अबका हाम्रा कदम केन्द्रित हुनुपर्छ ।’ उनले श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्न जरुरी भएकाले श्रमको सम्मान गर्ने शिक्षाको विकासमा लाग्न आह्वान गरेका छन् । राष्ट्रपतिले राष्ट्रका प्राकृतिक सम्पदाको अधिकतम सदुपयोग गरी कृषिको विकासमा लाग्नुपर्नेमा जोड र्दिएका छन् । उनले जलवायु परिवर्तनका प्रभावबारे गम्भीर हुन आग्रह गरे । साथै, उनले स्वदेशमा पौरख गर्न युवा पुस्तालाई अनुरोध गरेका छन् ।

राष्ट्रपति पौडेलले समृद्धिका आधार कृषिको आधुनिकीकरण, पर्यटन क्षेत्रको विकास र ऊर्जा उत्पादन भएकाले यी क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने जानकारी दिएका छन् । उनले पूर्वीय ज्ञान, परम्परा र सभ्यताको केन्द्र नेपाल भएकाले सबैतिर ज्ञानको ज्योति फैलाउन आवश्यक रहेको जनाएका छन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले बहुलता र एकतालाई अङ्गिकार गरेको बताउँदै राष्ट्रपति पौडेलले सवल, समावेशी र उन्नत राष्ट्र निर्माण सबैको साझा दायित्व भएको बताएका छन् ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्