म्याग्दीको बेनी नगरपालिकाभित्र हुक्का सेवन तथा बेचबिखनमा प्रतिबन्ध

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । म्याग्दीको बेनी नगरपालिका क्षेत्रभित्र हुक्का सेवनलाई प्रतिबन्ध गरिएको छ । नगरपालीकाले एक सुचना जारी गर्दै सुर्तीको धुलो खुदोमा मिसाएर बनाइएको धूर्मपान गर्ने वस्तु हुक्का (तमाखु)ले जनस्वास्थ्यमा गम्भीर असर पार्ने र युवायुवतीलाई कुलतमा लगाउने गरेको निष्कर्ष निकाल्दै नगरपालिकाले बुधबारदेखि हुक्का सेवन र बेचबिखनमा प्रतिबन्ध गरेको हो ।

गत माघ २५ गतेको नगर कार्यपालिकाको बैठकले गरेको निर्णयअनुसार हुक्कालाई पूर्णरुपमा बिक्री वितरण र सेवनमा निषेध गरिएको नगर प्रमुख सुरत केसीले जानकारी दिएका छन् । पछिल्लो समय बजार क्षेत्रमा युवायुवती हुक्का सेवनका कुलतमा फस्दै गएका थिए । युवायुवतीलाई कुलतमा लैजान हुक्काले प्रत्यक्ष प्रभाव पारेपछि नगरपालिकाले नीतिगत निर्णय गरी आवश्यक छलफल र तयारीका साथ हुक्का सेवन र बिक्री वितरणमा निषेध गरिएको उनको भनाइ छ ।

त्यसैगरी स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ३ को नगरपालिकाको काम, कर्तव्य र अधिकार मध्ये दफा ११ को उपदफा २ खण्ड (ञ) बमोजिम आधारभूत स्वास्थ्य र सरसफाइ अन्तर्गत रही स्थानीय वातावरणमा र मानव स्वास्थ्यमा प्रतिकूल असर गर्ने भएकाले हुक्कालाई पूर्णरुपमा निषेध गर्ने निर्णय गरिएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ । त्यस्तै, कसैले अवज्ञा गरी हुक्का बिक्री वितरण गरेको पाइएमा सुरक्षा निकाय र नगर प्रहरीमार्फत जफत गरी कानुनअनुसार अधिकतम कारबाही गरिने व्यवस्थासमेत गरिएको प्रमुख प्रशासकीय अधिकृत नेत्र पौडेलले बताएका छन् । नगरपालिकामा हुक्का निषेधसँगै जिल्ला प्रशासन, प्रहरीसहितको अनुगमन र समुदायस्तरमा समेत हुक्काको प्रयोगलाई निरुत्साहित सहितको सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने नगरपालिकाले जनाएको छ ।

यसअघि नगरपालिकाले जनप्रतिनिधि, नगरभित्रका होटल तथा रेष्टुराँ व्यवसायीसँग समेत छलफल गरेर हुक्कालाई प्रतिबन्ध लगाउने योजनालाई अघि बढाएको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्