काठमाडौँ महानगरपालिकामा २ लाख करदाताले तिरेनन् नियमित कर !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा करिब २ लाख करदाताले नियमित कर नतिर्ने गरेको पाइएको छ । महानगरमा दर्ता भएका करदाता ३ लाख १२ हजार भए पनि २ लाखले नियमित कर नतिर्ने गरेको पाइएको हो ।

लामो समयदेखि दर्ता प्रक्रियामा नै नआएर कर तिर्नका लागि आलटाल गरिरहेका करदातालाई नियमअनुसार समावेश गर्नका लागि कामपाले वडास्तरीय अनुगमन गरी नियमसङ्गतरुपमा ल्याउने तयारी गरेको कामपा राजस्व विभाग जनाएको छ । यसरी कर तिर्नका लागि आलटाल गर्नेमा सबैभन्दा धेरै बहाल करमा करिब १ लाख करदाता रहेको छन् । त्यसैगरी व्यवसाय कर, मनोरञ्जन कर र विज्ञापन करमा १ लाखको हाराहारीमा रहेको कामपा राजस्व विभागका प्रमुख धु्रव काफ्लेले जानकारी दिएका छन् ।

यस्तै, उनका अनुसार दर्ता प्रक्रियामा नआएका सबै शीर्षकका करदातालाई नियमअनुसार बनाउनका लागि यसै महिनादेखि कामपाको ३२ वटै वडाबाट नियमित अनुगमन गरी प्रक्रियामा ल्याउने तयारी कामपाको रहेको छ । काठमाडौँ महानगरमा कर तिर्नका लागि दर्ता प्रक्रियामा आएका तर नियमित कर नबुझाउने करदाताबाट पनि रु २ अर्ब बक्यौता असुल गर्न बाँकी रहेको प्रमुख काफ्लेको भनाइ छ । उक्त रकम विगत १२ वर्षदेखिको रहेको महानगरले जनाएको छ । दर्ता गरेर पनि नियमअनुसार कर नतिरेका करदाताका लागि कामपाले चालु आर्थिक वर्षको साउन महिनादेखि पुस मसान्तसम्म तिर्नुपर्ने रकममा केही छुट दिएको थियो ।

सोही अवधिमा दर्ता प्रक्रियामा रहेको केही करदाताले कर तिरेका भए पनि अझै धेरै करदाताले तिर्नका लागि आलटाल गरिरहेका छन् । दुई वर्षअघि पनि कामपाले २८ वर्षदेखिको बक्यौता रकम असुल गर्न भन्दै त्यस्ता करदाताको नाम नै सार्वजनिक गरेको थियो । उक्त समयमा घरजगगा र सम्पत्ति कर नतिर्ने ठूला करदाताको नाम सार्वजनिक गरेसँगै सम्पर्कमा आउने र बक्यौता तिर्ने क्रम बढेको भए पनि अहिले बक्यौता तीर्ने क्रम ठप्पजस्तै रहेको काफ्लेको भनाइ छ ।

यसैगरी चालु आर्थिक वर्षका लागि जम्मा रु १० अर्ब ८० करोड वार्षिक लक्ष्य लिएको महानगरले चालु आर्थिक महिनाको अवधि पार गरिसक्दा रु ५ अर्ब ८० करोड ५१ लाख ९० हजार राजस्व असुल गरेको छ । चालु आर्थिक वर्षको अर्ध वार्षिक अवधिसम्म कामपाको राजस्व सङ्कलनको अवस्था राम्रो रहे पनि पछिल्लो माघ महिनामा कामपाको आम्दानी अन्य महिनाको तुलनामा घटेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्