ताप्लेजुङमा आँखाका बिरामीको शल्यक्रिया गर्दै डा.रुइत

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेत्ररोग विशेषज्ञ डा.सन्दुक रुइतले बिहीबारदेखि गृहजिल्लाका मोतियाबिन्दुका बिरामीको शल्यक्रिया सुरु गर्ने भएका छन् । उनले बिहीबारदेखि ताप्लेजुङको फुङ्लिङमा आँखाका समस्या भएका सर्वसाधरणको शल्यक्रिया गर्ने जनाएका हुन् ।

जिल्लास्थित नेपाल नेत्रज्योति सङ्घले फुङ्लिङ नगरपालिका र सेवा फाउण्डेसनसँगको सहकार्यमा तिलगङ्गा आँखा अस्पतालको प्राविधिक सहयोग लिएर शल्यक्रियासहितको आँखा शिविर सञ्चालन गरेको थियो । शिविरमा आँखाको परीक्षण तथा उपचार गर्न डा.रुइत गृहजिल्ला आएको सङ्घका उपाध्यक्ष खगेन्द्र अधिकारीले जानकारी दिएका छन् । विभिन्न गाउँ-गाउँबाट शल्यक्रियाका लागि सिफारिस भइ आएका ९८ जना आँखारोगीको शल्यक्रिया गर्न सुरु भएको उनको भनाइ छ ।

त्यसैगरी बिहीबारदेखि सुरु भएको शल्यक्रिया तीन दिनसम्म सञ्चालन हुने सङ्घले जनाएको छ । डा रुइतले शल्यक्रिया गर्ने भएपछि आज नाम दर्ता गर्नेको सङ्ख्या उल्लेख्य रहेको सङ्घका कोषाध्यक्ष निरोज श्रेष्ठको भनाइ छ । त्यस्तै, सेवा लिन आउने सबै सेवाग्राहीलाई सहज ढङ्गले सेवा दिएर पठाउने योजनाका साथ काम भइरहेको सङ्घका जिल्ला सहसचिव युवराज गिरीले जनाएका छन् ।

उनका अनुसार अहिले नेत्रज्योति सङ्घ ताप्लेजुङद्वारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा आँखाको परीक्षण तथा उपचार भइरहेको छ । आँखाको परीक्षणका लागि आइपुगेको तिलगङ्गा आँखा अस्पतालको प्राविधिक टोलीले आज बिहानैदेखि परीक्षण तथा उपचार सुरु गरेको छ । परीक्षणका क्रममा छनोट भएका मोतियाबिन्दुका बिरामीको डा रुइतको नेतृत्वमा रहेको टोलीले शल्यक्रिया गर्ने आँखा उपचार केन्द्रका क्लिनिक इञ्चार्ज काजीमान गुरुङले बताएका छन् ।

सङ्घले यसअघि मैवाखोलाको ढुङ्गेसाँघु र मिक्वाखोलाको खोक्लिङमा पुगेर आँखाको परीक्षण गरी ३७ जना मोतियाबिन्दुका बिरामीको छनोट गरिसकेको छ । उनीहरूको पनि आज शल्यक्रिया गर्ने योजना रहेको गुरुङको भनाइ छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्