बेहडाबाबा मन्दिरमा शिवरात्रिको अवसरमा पुष्प वर्षा र सवा २ करोड दीप प्रज्वलन गरिने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बेहडाबाबा मन्दिरमा शिवरात्रिको अवसरमा पुष्प वर्षा र सवा २ करोड दीप प्रज्वलन गरिने भएको छ । ऐतिहासिक महत्व बोकेको धनगढी उपमहानगरपालिका-१६ रामपुरस्थित बेहडाबाबा मन्दिरमा महाशिवरात्रिका अवसरमा हेलिकप्टरद्वारा पुष्प वर्षा र सवा २ करोड दीप प्रज्वलन गरिने भएको हो ।

मन्दिर व्यवस्थापन समिति र बेहडाबाबा पुष्प वर्षा समारोह उपसमितिको आयोजनामा माहाशिवरात्रिका अवसरमा हुन लागेको पुष्प वर्षा र सवा २ करोड दीप प्रज्वलन कार्यक्रमको तयारी भएको आयोजक मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पद्मराज जोशीले जानकारी दिएका छन् । हरेक वर्ष आयोजना गरिने महाशिवरात्रि मेलामा पहिलो पटक हेलिकप्टरबाट पुष्प वर्षा गरिन लागिएको उनले बताएका छन् ।

यस्तै, कैलालीको प्रसिद्ध धार्मिकस्थल मानिने बेहडाबाबालाई पर्यटकीय गन्तव्य बनाउनका लागि प्रचारप्रसार गर्न हेलिकप्टरबाट पुष्प वर्षा गराउन लागिएको आयोजकको भनाइ छ । शुक्रबार महाशिवरात्रिको दिन बिहान ११ बजेदेखि मध्याह्न १२ बजेको समयमा हेलिकप्टरबाट पुष्प वर्षा गराइने र अपराह्न ४ बजे सवा दई करोड बत्ती प्रज्वलन गरिने आयोजकले जनाएको छ । पुष्प वर्षा कार्यक्रमका लागि नरेन्द्र शाहको संयोजकत्वमा रहेको टोलीले रु १४ लाख ९ हजार ९ सय ५० रकम सङ्कलन गरिसकेको छ ।

पुष्प वर्षाका लागि हेलिकप्टर भाडाबापत रु ११ लाख र ३ क्विन्टल फूलको रु २ लाख गरी जम्मा रु १३ लाख खर्च हुने अनुमान गरिएको आयोजकको भनाइ छ । महाशिवरात्रिमा पुष्प वर्षासँगै भक्तजनका लागि महाभण्डारासमेत चलाउने र उपस्थित सम्पूर्ण भक्तजनलाई नि:शुल्क खाना र पानीको व्यवस्था गरिने बताइएको छ । बेहडाबाबा धाममा भक्तजनलाई जान आउनदेखि दर्शन तथा पूजापाठ गर्नसम्मका लागि सम्पूर्ण तयारी गरिएको छ । आवतजावतका लागि बसको व्यवस्था र कडा सुरक्षाकोसमेत व्यवस्था गरिएको छ ।

त्यस्तै, यस बेहडाबाबा मन्दिरमा लाग्ने महाशिवरात्रिमा दर्शनका लागि छिमेकी मुलुक भारतबाटसमेत दर्शनार्थी आउने गरेका छन् । बेहडाबाबा मन्दिरको दर्शनका लागि भारतका लख्खीमपुर, पलिया, पिलीभित, युपी, उत्तराखण्डलगायत विभिन्न क्षेत्रबाट भक्तजन आउने गरेको मन्दिर व्यस्थापन समितिका अध्यक्ष जोशीले जानकारी दिएका छन् ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्