अनुदानको प्रविधि प्रयोग गर्न पाउँदा उखु किसान उत्साहित

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । परम्परागत रूपमा उखु खेती गर्दै आएका स्याङ्जाको कालीगण्डकी गाउँपालिका-५ लुङ्सिङका किसान प्रविधिको प्रयोग गर्न पाउँदा उत्साहित भएका छन् । गोरु नारेर उखु पेल्दै आएका त्यहाँका किसानलाई गाउँपालिकाले अनुदानमा उखु पेल्ने मेसिन दिएपछि किसान उत्साहित भएका हुन् ।

परम्परागत शैलीमा उखुखेती गर्दा, पेल्दा अत्यन्त झन्झटिलो, श्रम र समयको खर्च बढी भएपछि यहाँका किसान उखुखेतीबाट बिमुख हुँदै गएको अवस्थामा गाउँपालिकाले उखु पेल्ने आधुनिक उपकरण, खेतीसम्बन्धी तालिम दिएपछि पुरानै पेसामा फर्कनेको सङ्ख्या बढ्दै गएको छ । लुङ्सिङका १५ घरपरिवार उखु खेतीमा आवद्ध छन् । त्यहाँका किसानले करिब १ सय वर्षदेखि उखुखती गर्दै आएका छन् । खुदो बनाएर आम्दानी लिनु त्यहाँका किसानको मुख्य पेसा हो । स्थानीय भुवानन्द न्यौपानेले गोरु नारेर उखु पेल्दाश्रम र समयको खर्च हुने भएकाले उखु खेतीतर्फ जागर हराउँदै गएको स्मरण गरेका छन् । गाउँपालिकाले उखु पेल्ने मेसिन दिएपछि भने आफूहरूमा उत्साह थपिएको बताएका छन् ।

त्यस्तै, ‘परम्परागत रूपमा उखु पेल्दा दिनैभरी लाग्थ्यो । मेसिनमा भने दिनभरको काम एकै घण्टामै हुने भएको छ’, उनले भने, ‘गाउँपालिकाले यहाँका किसानलाई उखु खेतीसम्बन्धी तालिमसमेत दिएको छ । यहाँका सबै किसानको मनस्थिति उखुखेती विस्तार गर्दै लैजाने छ ।’ बाउबाजेको सिको गर्दै उखुखेती गरिरहेका यहाँका किसान प्रविधिको ज्ञानको अभावमा विस्थापित हुने अवस्थामा पुगेका थिए । ‘खेतीलगाउन त्यति गाह्रो छैन । तर रसबाट खुदो बनाउन अत्यन्त मेहनत लाग्छ । ठूला ठूला मुडा, काठ दाउरा जङ्लबाट ल्याउन, पकाउन निक्कै गाह्रो छ’, न्यौपानेले थप्दै भने, ‘खुदो बनाउन श्रम बढी खर्च हुने हुँदा युवाको आकर्षण यो पेसातर्फ त्यत्ति देखिँदैन । गुल्मीको थोर्गाबाट बीउ ल्याएर बाउबाजेले यहाँ उखुखेती सुरु गर्नुभएको हो भन्ने सुन्दै आएका छौँ, एक पाथी खुदो उत्पादन गर्न नौ पाथी रस आवश्यक पर्छ । बजारको कुनै समस्या छैन । रु २ सयमा एक माना घरबाटै बिक्री हुन्छ ।’ न्यौपानेले दुई रोपनी जमिनमा उखु लगाएका छन् । उनले सिजनअनुसार धान, मकै, कोदो उत्पादन तथा बाख्रापालन गरेका छन् ।

किसानले खुदो बिक्रीबाट वार्षिक एकदेखि ५ लाखसम्म कमाइगर्दै आएका छन् । भुवानन्दले पनि यसवर्ष ५ सय माना खुदो उत्पादन गरेको जानकारी दिएका छन् । खेतीगर्ने आधुनिक प्रविधि, खुदो पकाउने बिजुली मेसिन सरकारबाट पाए आफूहरूले सही सदुपयोग गर्ने उनको भनाइ छ । किसान रुकमागत न्यौपानेले पनि चार रोपनी जमिनमा उखु खेती गर्दै आएका छन् । उनले खुदो बिक्रीबाट वार्षिक २ लाख ५० हजारसम्म आम्दानी गर्ने गरेको सुनाएका छन् । रुकमागतले उखु खेतीलाई कहिले काहीँ कीराले सताउने गरेको गुनासो गरेका छन् । उनले पनि धान, गहुँ मकै खेतीसँगै बाख्रापालन गरेका छन् ।

किसान नन्दलाल न्यौपानेले उखु खेतीबाट राम्रो आम्दानी हुने जनाएका छन् । ‘म जान्ने हुँदादेखि हाम्रोमा उखुखेती थियो । यसैबाट घरखर्च चलेको थियो’, उनले भने, ‘उखुबाट किसानलाई राम्रो फाइदा हुन्छ ।’ उहाँ बाँझो जग्गामा उखु लगाउन सबैलाई सुझाव पनि दिन्छन् । यसवर्ष करिब १५ हजार लिटर खुदो उत्पादन गर्ने लुङ्सिङवासीको लक्ष्य छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्