‘ज्येष्ठ नागरिक सरोकार केन्द्रले गरेको काम प्रभावकारी छ’: मन्त्री शर्मा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ज्येष्ठ नागरिक सरोकार केन्द्रले गरेको काम प्रभावकारी रहेको बताएकी छिन् । घोराही उपमहानगरपालिका-१६ तेरौंटेमा रहेको ज्येष्ठ नागरिक सरोकार केन्द्रमा बिहीबार भएको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

सो कार्यक्रममा उनले बदलिँदो समाजको विकाससँगै ज्येष्ठ नागरिक पछिल्लो समय एक्लिदै गएको जानकारी दिएकी छिन् । उनले यसलाई अझ व्यवस्थित गर्दै लैजानुपर्नेमासमेत जोड दिएकी हुन् । मन्त्री शर्माले समयको व्यस्तताले परिवारबाट एक्लिएका ज्येष्ठ नागरिकलाई केन्द्रले दिएको आवासीयसहितको सेवाले उनीहरुलाई जीवनयापनमा निकै सहज भएको धारणा व्यक्त गरेकी छिन् ।

यस्तै, कतिपय अवस्थामा कामको व्यस्तता र जिम्मेवारीका कारण एउटै परिवार पनि छुट्टिएर बस्नुपर्ने अवस्था रहेको भन्दै मन्त्री शर्माले ज्येष्ठ नागरिक एक्लिरहेको उनको भनाइ छ । ज्येष्ठ नागरिकलाई पालनपोषण र हेरविचार गर्नुपर्ने परिवारको दायित्व भए पनि पछिल्लो समय कतिपय ठाउँमा विभेद गरेको र आश्रममा लगेर छाडेका घटना आउने गरेका उनले उल्लेख गरेकी छिन् । साथै, उनले त्यस्ता घटनालाई रोकेर सकेसम्म परिवारमै माया ममता दिएर राख्न आवश्यक रहेको बताएकी छिन् ।

पछिल्लो पुस्तामा अभिभावकको कर्तव्य पालना गर्नमा समस्या देखिने क्रम बढेको भन्दै युवापुस्तामा नैतिक शिक्षा र अभिभावकप्रतिको जिम्मेवारी बोध गराउन राज्यका सबै निकायले ध्यान दिनुपर्ने उनको भनाइ छ । उनले ज्येष्ठ नागरिक सरोकार केन्द्रमा रहेको पार्कलाई व्यवस्थित गर्नेलगायत अन्य भौतिक संरचना निर्माणका लागि आवश्यक पहलका लागि आफ्नातर्फबाट कोसिस रहने जनाएकी छिन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्